सोमबार, श्रावण १८,२०८३ 06:55:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:55:49
Bizshala
Global IME Bank Limited

निर्माण व्यवसायीसँग प्रधानमन्त्री शाहको छलफल, भुक्तानी समस्या समाधानमा सकारात्मक

निर्माण व्यवसायीसँग प्रधानमन्त्री शाहको छलफल, भुक्तानी समस्या समाधानमा सकारात्मक
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले अर्थतन्त्र र निर्माण क्षेत्रको अवस्थाबारे चासो व्यक्त गरेका हुन् ।

छलफलमा सहभागी निर्माण व्यवसायीका अनुसार क्षणिक लाभभन्दा माथि उठेर दीर्घकालीन रूपमा निर्माण क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको बताए । उनले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको धारणा राखे ।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।

व्यवसायीहरुले निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए ।

उनीहरुले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

आधा घण्टाका लागि समय लिएर गएका निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीसँग करिब एक घण्टा छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने आश्वासन दिएका थिए ।

निर्माण क्षेत्र रुग्ण अवस्थामा रहेको भन्दै प्रधानमन्त्री शाहले यसको सुधारका लागि सरकार गम्भीर रहेको बताए । व्यवसायीका अनुसार भुक्तानी समस्या समाधान र मूल्य समायोजनका विषयमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.