काठमाण्डौ । मुगुका गणेश नेपालीको आत्मदाह घटनाले देशभर तरंग सिर्जना गरिरहेका बेला सर्लाहीमा पनि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका अनुसार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
सांसद सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी पाएलगत्तै मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको बताएका छन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र पार्टी सभापति रवि लामिछानेलाई घटनाको वस्तुस्थितिबारे जानकारी गराउँदै सरकारीस्तरबाट तत्काल उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेको उल्लेख गरेका छन्।
मण्डललाई काठमाडौं ल्याएर विशेषज्ञ उपचार गराउने तयारी भइरहेको सांसद सिंहले बताएका छन्।

