शुक्रबार, असार २६,२०८३ 10:59:19
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:59:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आगोले खरानी बनाएको इम्बोस्ड प्लेट आयोजना फेरि ब्युँताइँदै, ६ वर्षभित्र ५८ लाख सवारीमा अनिवार्य गर्ने तयारी

Laxmi Sunrise Bank Limited
आगोले खरानी बनाएको इम्बोस्ड प्लेट आयोजना फेरि ब्युँताइँदै, ६ वर्षभित्र ५८ लाख सवारीमा अनिवार्य गर्ने तयारी

-रविन ठकुरी

 

काठमाण्डौ । जेनजी आन्दोलनको आगजनीमा उत्पादन कारखानासहित लाखौँ इम्बोस्ड नम्बर प्लेट खरानी भएपछि ठप्प बनेको सरकारी आयोजना पुनः ब्युँताउने तयारी सुरु भएको छ।

काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन कारखाना २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको थियो। कारखानामा रहेका मेसिन, उपकरण, कच्चा पदार्थ र तयारी अवस्थाका करिब पाँचदेखि छ लाख नम्बर प्लेट नष्ट हुँदा झन्डै दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको अनुमान छ।

आगजनीपछि इम्बोस्ड नम्बर प्लेटको उत्पादन तथा जडान प्रक्रिया देशभर रोकिएको छ। अब कारखानाको पुनर्निर्माण, मर्मत र नयाँ उपकरण जडान गरी तीन वर्षभित्र पुनः सञ्चालनमा ल्याउने तयारी विभागले गरेको छ।

कारखाना सञ्चालनमा आएको थप तीन वर्षभित्र देशभर दर्ता भएका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य विभागको छ। यो योजनाअनुसार पुनर्निर्माण र जडान सम्पन्न गर्न अबको करिब छ वर्ष लाग्ने देखिएको छ।

New Office
CG Motors
Garima Development Bank

दुई अर्बको क्षति, छ लाखसम्म प्लेट खरानी

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीले यातायात व्यवस्था विभागको इम्बोस्ड नम्बर प्लेट उत्पादन केन्द्र पूर्ण रूपमा ध्वस्त बनाएको थियो।

कारखानाभित्र रहेका सम्पूर्ण उपकरण, प्रविधि प्रणाली, कच्चा पदार्थ र तयारी अवस्थामा राखिएका पाँचदेखि छ लाख नम्बर प्लेट जलेर नष्ट भएका थिए। त्यसबाट करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ।

“आन्दोलनमा भएको क्षतिका कारण कारखाना थप इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्न सक्ने अवस्थामा छैन,” यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले भने, “यसले देशभर इम्बोस्ड नम्बर प्लेट उत्पादन र जडानको सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिदिएको छ।”

जेनजी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा करिब एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी अनुमान छ। त्यसमध्ये सार्वजनिक सम्पत्तिमा एक खर्ब र निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। यातायात व्यवस्था विभागको कारखानामा भएको क्षति पनि सार्वजनिक सम्पत्तितर्फको यही विवरणमा समेटिएको छ।

दुई लाख सवारीमा मात्र जडान, बाँकी ५६ लाखभन्दा बढी

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म देशभर करिब डेढ लाखदेखि दुई लाख सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागको तथ्यांक छ।

तर उत्पादन कारखाना ध्वस्त भएपछि नयाँ प्लेट उत्पादन, वितरण र जडान प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको छ। कारखाना पुनः सञ्चालनमा नआएसम्म थप सवारीमा नियमित रूपमा प्लेट जडान गर्न नसकिने अवस्था सिर्जना भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८४ हजार नयाँ इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने लक्ष्य राखिएकोमा एक लाख ६३ हजार थान मात्रै उत्पादन भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक लाख १५ हजार ८५७ थान प्लेट उत्पादन गरिएको थियो।

इम्बोस्ड नम्बर प्लेटको जडान प्रक्रिया यसअघि पनि लामो समय विवादमा परेको थियो। आर्थिक वर्ष २०७६/७७ सम्म करिब पाँच हजार सवारीमा जडान भएपछि भाषालगायतका विषयमा विवाद उत्पन्न भई सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

सर्वोच्च अदालतले रिट खारेज गरेपछि २०७७ साल साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेटको उत्पादन, वितरण र जडान प्रक्रिया पुनः सुरु गरिएको थियो। तर पछिल्लो आगजनीले आयोजना फेरि अनिश्चिततातर्फ धकेलिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विदेशी कम्पनीलाई तीन वर्षभित्र कारखाना सञ्चालन गर्न निर्देशन

इम्बोस्ड नम्बर प्लेट उत्पादन तथा जडानको जिम्मा पाएको अमेरिकाको डेकाटुर र बंगलादेशको टाइगर आईटीको संयुक्त कम्पनीलाई विभागले कारखाना पुनर्निर्माण गरी सञ्चालनमा आउन निर्देशन दिएको छ।

विभागले कम्पनीलाई नयाँ मेसिन, उपकरण र प्रणाली जडानसहित तीन वर्षभित्र उत्पादन सुरु गर्ने समयसीमा दिएको छ।

“इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने कम्पनीलाई तीन वर्षभित्र पुनः सञ्चालनमा आउन भनेका छौँ,” निर्देशक भुसालले भने, “कम्पनीले पनि सोही अवधिमा कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ। त्यसपछि रोकिएको उत्पादन र जडान प्रक्रिया पुनः अघि बढाइनेछ।”

कारखाना सञ्चालनमा आएपछि देशभर एकैपटक इम्बोस्ड नम्बर प्लेट जडान अभियान सञ्चालन गर्ने विभागको तयारी छ।

लक्ष्यमा ५८ लाख ५० हजार सवारी

आर्थिक वर्ष २०८१/८२ सम्म नेपालमा दर्ता भएका सवारीसाधनको संख्या ५८ लाख ५० हजार ४३२ पुगेको छ। यसमध्ये सबैभन्दा धेरै ४७ लाख ४४ हजार ७२ वटा मोटरसाइकल छन्।

त्यस्तै, तीन लाख ६६ हजार ७२३ कार, जिप, ट्याक्सी तथा भ्यान, एक लाख ९० हजार ६४ ट्र्याक्टर तथा पावरट्रेलर, एक लाख २९ हजार ११९ क्रेन, डोजर, एक्स्काभेटर, लोडर, रोलर तथा ट्रक र एक लाख ११ हजार ३५२ टेम्पो दर्ता भएका छन्।

यसैगरी, ९१ हजार ४८३ पिकअप, ७३ हजार ६०६ ई–रिक्सा, ७१ हजार ५७७ बस, ४१ हजार ९८६ मिनिबस तथा मिनिट्रक, १२ हजार ५७५ माइक्रो र १७ हजार ८७५ अन्य सवारी दर्ता छन्।

हालसम्म बढीमा दुई लाख सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको मान्दा अझै ५६ लाखभन्दा बढी सवारीसाधनमा नयाँ प्लेट जडान गर्न बाँकी छ।

“कम्पनी पुनः सञ्चालनमा आएको तीन वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य लिएका छौँ,” भुसालले भने, “पहिले कम्पनीलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइनेछ। त्यसपछि थप तीन वर्षभित्र सम्पूर्ण सवारीको जडान प्रक्रिया पूरा गर्ने तयारी छ।”

सवारीसाधनलाई प्रविधिमैत्री बनाउने, पहिचान तथा अनुगमन प्रणाली प्रभावकारी बनाउने र चोरी तथा आपराधिक गतिविधिमा प्रयोग हुने सवारी पहिचान गर्न सहज बनाउने उद्देश्यसहित इम्बोस्ड नम्बर प्लेट आयोजना सुरु गरिएको थियो। तर पटक–पटकको विवाद, ढिलाइ र पछिल्लो आगजनीका कारण आयोजना निर्धारित समयभन्दा धेरै पछाडि धकेलिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.