काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११० बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन्।
यस्तै, व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई विषय सदनमा पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

