शुक्रबार, श्रावण १,२०८३ 07:17:15
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:17:15
Bizshala
Global IME Bank Limited

फाइनलअघि अर्जेन्टिना फिफाको छानबिनमा, खेलाडीमाथि कारबाहीको जोखिम

फाइनलअघि अर्जेन्टिना फिफाको छानबिनमा, खेलाडीमाथि कारबाहीको जोखिम
New Office

 

काठमाण्डौ । विश्वकप फुटबलको सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेको आरोपमा अर्जेन्टिनी टोली फिफाको अनुशासनिक छानबिनमा परेको छ।

बुधबार अमेरिकाको एटलान्टामा भएको खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘फकल्याण्ड टापु अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सोसहितका खेलाडीले समर्थकबाट प्राप्त ब्यानर बोकेर मैदानमा उत्सव मनाएका थिए।

घटनापछि फिफाको अनुशासन समितिले खेल प्रतिवेदन र सम्बन्धित परिस्थितिको मूल्याङ्कन सुरु गरेको छ। फिफाको नियमले खेलअघि, खेलका क्रममा वा खेलपछि राजनीतिक, वैचारिक, धार्मिक तथा आपत्तिजनक सन्देश प्रदर्शन गर्न रोक लगाएको छ।

स्पेनी सञ्चारमाध्यम ‘एएस’का अनुसार फिफाले घटनाबारे सूचना संकलन गर्ने र संलग्न पक्षको धारणा सुन्ने गरी प्रक्रिया अघि बढाएको छ। अर्जेन्टिना फुटबल संघमाथि आर्थिक जरिवाना लाग्ने सम्भावना बढी देखिए पनि खेलाडीमाथि खेल प्रतिबन्ध लगाउने विकल्पसमेत अनुशासनिक प्रक्रियामा खुला छ।

फिफाले यस्ता राजनीतिक सन्देश प्रदर्शन गरिएका घटनामा सामान्यतया पाँच हजारदेखि २० हजार अमेरिकी डलरसम्म जरिवाना गर्न सक्छ। अर्जेन्टिना फुटबल संघमाथि कारबाही हुने सम्भावना रहे पनि आइतबार हुने विश्वकप फाइनलअघि खेलाडीलाई प्रतिबन्ध लगाइने वा नलगाइने विषय अझै स्पष्ट भएको छैन।

बेलायतको चर्को विरोध

घटनापछि बेलायत सरकारले फिफासँग निष्पक्ष र विस्तृत अनुसन्धानको माग गरेको छ। बेलायती व्यापारमन्त्री पिटर काइलले अर्जेन्टिनी खेलाडीको व्यवहारलाई फुटबलका नियमको गम्भीर उल्लङ्घन भन्दै राजनीति र फुटबल अलग रहनुपर्ने बताएका छन्।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरको कार्यालयले पनि फिफाको अनुसन्धानको मागलाई समर्थन गरेको छ। डाउनिङ स्ट्रिटका प्रवक्ताले फकल्याण्ड टापुका बासिन्दाको आत्मनिर्णयको अधिकार सर्वोपरि रहेको र टापुप्रतिको बेलायतको प्रतिबद्धता कमजोर नहुने बताएका छन्।

बेलायतका केही राजनीतिक नेताले ब्यानर बोकेका अर्जेन्टिनी खेलाडीलाई स्पेनविरुद्धको फाइनल खेल्न नदिनसमेत माग गरेका छन्।

मिलेईले गरे खेलाडीको बचाउ

अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले भने खेलाडीहरूको कदमलाई जायज ठहर गरेका छन्। उनले ब्यानरमा लेखिएको सन्देश सबै अर्जेन्टिनीको साझा भावना भएको प्रतिक्रिया दिएका छन्।

मिलेईले खेलाडीहरू भावनामा बगेर आवेगमा निर्णय गर्ने भन्दै फिफाले आर्थिक जरिवाना गर्न सक्ने सम्भावना भने स्वीकार गरेका छन्। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले पनि खेलाडीको कदमको खुलेर समर्थन गरेकी छन्।

के हो फकल्याण्ड विवाद?

दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापुलाई अर्जेन्टिनाले ‘माल्भिनास’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। बेलायतले भने टापुलाई आफ्नो समुद्रपारको भूभाग मान्दै आएको छ।

सन् १९८२ मा अर्जेन्टिनाले फकल्याण्ड टापुमाथि सैन्य आक्रमण गरेपछि दुई देशबीच करिब १० साता युद्ध भएको थियो। बेलायतले पुनः नियन्त्रण कायम गरेको उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सुरक्षाकर्मी र तीन जना टापुवासीको मृत्यु भएको थियो।

यसअघि पनि अर्जेन्टिनालाई जरिवाना

अर्जेन्टिनाले फकल्याण्डसम्बन्धी ब्यानर प्रदर्शन गरेको यो पहिलो घटना होइन। सन् २०१४ को विश्वकपअघि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी टोलीले यही सन्देशसहितको ब्यानर प्रदर्शन गरेको थियो। त्यसबेला फिफाले अर्जेन्टिना फुटबल संघलाई ३० हजार स्विस फ्र्याङ्क जरिवाना गरेको थियो।

सन् २०१२ को लन्डन ओलम्पिकमा जापानविरुद्धको क्षेत्रीय दाबीसम्बन्धी ब्यानर प्रदर्शन गरेका दक्षिण कोरियाली खेलाडी पार्क जोङ–वुलाई दुई विश्वकप छनोट खेलमा प्रतिबन्ध लगाइएको थियो। कतार विश्वकप २०२२ मा कोसोभोसम्बन्धी राजनीतिक ब्यानर राखेको आरोपमा सर्बिया फुटबल संघलाई २० हजार स्विस फ्र्याङ्क जरिवाना गरिएको थियो।

उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिनाले जुलाई १९ मा अमेरिकाको न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा स्पेनसँग विश्वकप फाइनल खेल्दैछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.