काठमाण्डौ । देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार साउन २ गते साँझदेखि भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ की ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ का ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ।
यस्तै, दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा सर्पदंशबाट ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।
पछिल्लो २४ घण्टामा विपद्मा परेका एक जनाको प्रहरीले उद्धार गरेको छ। अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण करिब २३ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक आकलन छ।
२०८३ वैशाख १ गतेयता देशभर भएका तीन हजार ४६३ वटा विपद्जन्य घटनामा १६८ जनाको मृत्यु भइसकेको छ। सो अवधिमा ९९४ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्।
विपद्का घटनाबाट एक हजार १५ वटा चौपायासमेत मरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

