काठमाण्डौ । राप्ती गाउँपालिकाले ३२७ जना मजदुरलाई निःशुल्क दुर्घटना बीमा कार्यक्रममा आबद्ध गरेको छ। जोखिमपूर्ण क्षेत्रमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै दुर्घटनापछि उपचारमा आर्थिक भार कम गर्ने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी आवेदन दिएका मजदुरलाई छनोट गरी निःशुल्क दुर्घटना बीमा गराएको जनाएको छ। यो कार्यक्रम गत वर्षदेखि नै निरन्तर सञ्चालन हुँदै आएको छ।
बीमामा आबद्ध मजदुर दुर्घटनामा परेर उपचार गर्नुपर्ने अवस्था आएमा प्रतिव्यक्ति अधिकतम एक लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ।
मजदुरसँगै महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी तथा सहिद परिवारका सदस्यहरूको पनि स्वास्थ्य बीमा गरिएको छ।

