काठमाण्डौ । झन्डै तीन महिनादेखि पूर्णकालीन नेतृत्वविहीन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्तिको प्रक्रिया बल्ल अन्तर्वार्ताको चरणमा पुगेको छ। नियुक्तिमा भइरहेको ढिलाइ र त्यसबीच संस्थाभित्र स्वार्थ समूहको प्रभाव विस्तार गर्ने प्रयासबारे प्रश्न उठिरहेका बेला छनोट तथा सिफारिस समितिले चारजना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको हो।
अर्थ मन्त्रालयले सोमबार असोज १९ गते सार्वजनिक गरेको सूचनाअनुसार सीईओका लागि आठजनाले आवेदन दिएका थिए। तीमध्ये अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट भएका छन्।
यसपटकको नियुक्ति प्रक्रियामा प्राप्त आवेदनको संख्या र सर्टलिस्टमा परेका उम्मेदवारको नाम पहिलोपटक सार्वजनिक भएको हो। यद्यपि, समितिले सबै आठ आवेदकको नाम खुलाएको छैन। सार्वजनिक सूचनामा अन्तर्वार्ताका लागि छानिएका चारजनाको नाम र कार्यक्रम तालिका मात्र समावेश छ।
समितिले चारै उम्मेदवारलाई असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ। पौडेलको बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे अन्तर्वार्ता हुनेछ। नारायण प्रसाद सापकोटालाई साँझ ५ः३० बजे तथा सुवेदीलाई साँझ ६ः३० बजेको समय तोकिएको छ।
उम्मेदवारलाई निर्धारित समयभन्दा ३० मिनेटअघि नै उपस्थित हुन भनिएको छ। सम्पर्कका लागि मन्त्रालयको कोठा नम्बर ४१९ तोकिएको छ।
समितिले साउन १२ गते खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो। तोकिएको म्यादभित्र आवेदन दिएका आठजनामध्ये ‘नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३’ को दफा ६.२ बमोजिम चारजनाको संक्षिप्त सूची तयार गरिएको हो। अब कार्यविधिको दफा ५ अनुसार नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्याङ्कन हुनेछ।
साउनमा आवेदन मागिएको प्रक्रियाको सर्टलिस्ट भने असोजको तेस्रो सातामा आएर सार्वजनिक भएको छ। समितिको सूचनाले नियुक्ति प्रक्रिया अघि बढेको जानकारी दिए पनि यो चरणसम्म पुग्न किन यति समय लाग्यो भन्ने खुलाएको छैन।
चूडामणि चापागाईंले असार २२ गते राजीनामा दिएपछि नेप्सेमा पूर्णकालीन सीईओको पद रिक्त छ। त्यसयता लीलाधर सुवेदीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्। खुला प्रतिस्पर्धाको प्रक्रिया सुरु भएर पनि नियुक्ति नटुंगिँदा बजार सञ्चालन गर्ने संस्थालाई लामो समय निमित्त नेतृत्वमा राखिएको विषयमा प्रश्न उठ्दै आएको छ।
बिजशालाले यसअघि सीईओ नियुक्तिको ढिलाइसँगै निमित्त नेतृत्वमार्फत संवेदनशील निर्णय अघि बढाउने र नेप्सेको व्यवस्थापनमा एक व्यापारिक प्रतिष्ठानको दीर्घकालीन प्रभाव विस्तार गर्ने प्रयास भइरहेको सार्वजनिक गरेको थियो। उक्त समाचारमा सूचीकृत कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरको अभिलेख मिलाउन लिखित आधारबिनै दबाब दिइएको र व्यवस्थापन समूह ल्याउने सम्भावनाबारे गृहकार्य भइरहेको उल्लेख थिए।
सोही समाचारमा आधारित रहेर संसद अन्तर्गतको अर्थ समितिले नेप्सेको सीईओ नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन अर्थमन्त्रालयलाई निर्देशन नै दिनुपरेको थियो ।
बिजशालाले सोही समाचारमार्फत केही व्यापारिक र व्यवसायिक प्रतिष्ठानले तत्काल सीईओ नियुक्त नगर्ने, बरु एउटा व्यवस्थापन समिति बनाएर त्यसकै आडमा नेप्सेको पुनरसंरचनाको नाममा सम्पूर्ण हिसाबले नेपालको सेयर बजारमा कब्जा जमाउने योजना बनिरहेको समेत खुलासा भएको थियो । यी विषयलाई सम्वेदनशील मान्दै अर्थसमितिले तत्काल हस्तक्षेपकै शैलीमा लिखित निर्देशन नै दिएपछि अर्थमन्त्रालय पनि रोकिएको प्रक्रिया अगाडि बढाउन बाध्य भएको हो ।
यही पृष्ठभूमिमा सार्वजनिक भएको सर्टलिस्टले पूर्णकालीन नेतृत्व चयनको बाटो खोलेको छ। तर अन्तर्वार्ताको मिति तोकिनु र नियुक्ति टुंगिनु फरक चरण हुन्। समितिको पछिल्लो सूचनामा अन्तिम सिफारिस तथा नियुक्ति कहिलेसम्म सम्पन्न हुन्छ भन्ने समयसीमा उल्लेख छैन।
पारदर्शिताको प्रश्न पनि बाँकी छ। आठ आवेदकमध्ये चारजना कसरी छनोट भए भन्ने मूल्याङ्कनको विस्तृत आधार र प्राप्ताङ्क सूचनामा खुलाइएको छैन। यसले सर्टलिस्ट तयार भएको जानकारी दिए पनि छनोटको तुलनात्मक आधार सार्वजनिक गरेको छैन।
यसकारण अबको चासो चारमध्ये को सीईओ बन्छ भन्नेमा मात्र सीमित छैन। लामो समय रोकिएको प्रक्रिया फेरि नलम्ब्याई टुंगिन्छ कि टुंगिँदैन, छनोटको आधार कति पारदर्शी हुन्छ र नयाँ नेतृत्वले संस्थागत निर्णयमा स्वतन्त्रता कायम गर्न सक्छ कि सक्दैन भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेका छन्।
अन्तर्वार्ताको तालिकाले नियुक्ति प्रक्रियाको अन्योल केही घटाएको छ। अब त्यसलाई विश्वसनीय निष्कर्षमा पुर्याउने जिम्मेवारी छनोट समिति र सरकारको काँधमा छ।

यसअघि प्रकाशित समाचार :
EXCLUSIVE: सीईओ पद खाली राखेर नेप्से कब्जाको खेल ? खरबौंको बजार र अरबौंको सम्पत्ति हात पार्ने डरलाग्दो योजना


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।