रकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष जोड्ने गरी नयाँ व्यवस्था गरेको छ।
‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै सरकारले एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरी सेयर निष्काशन गर्न सकिने बाटो खुला गरेको हो।
संशोधित नियमावलीअनुसार यस्तो व्यवस्थाअन्तर्गत सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन्।
यसले एनआरएन लगानीकर्तालाई लक्षित गरेर पूँजी उठाउन चाहने कम्पनीका लागि प्राथमिक बजारमा छुट्टै अवसर सिर्जना गरेको छ।
तर, यस्तो सेयर निष्काशनमा प्रिमियम भने थप गर्न पाइने छैन। अर्थात् कम्पनीले अंकित मूल्यभन्दा बढी रकम लिएर यस्तो सेयर निष्काशन गर्न पाउने छैन।
संशोधित नियमावलीमा यस्ता सेयरको दोस्रो बजार कारोबारसमेत छुट्टै प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ। धितोपत्र बजारले तोकेको प्रणालीअनुसार कारोबार हुने यस्तो सेयरको न्यूनतम कारोबार इकाई १ हजार कित्ता रहनेछ।
सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नियमावली संशोधन गरेको हो। नयाँ व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तोकेको मितिदेखि लागू हुनेछ।
यो नयाँ व्यवस्थाले एनआरएनका लागि नेपालमा लगानीको दायरा विस्तार गर्नुका साथै विदेशमा रहेको नेपाली पूँजीलाई घरेलु पूँजी बजारमार्फत परिचालन गर्ने सम्भावना बढाएको छ।
विशेषगरी एनआरएन लक्षित कम्पनी तथा परियोजनाले प्राथमिक बजारबाट पूँजी जुटाउन सक्ने भएपछि नेपालको सेयर बजारमा नयाँ प्रकारका लगानीकर्ता र नयाँ पूँजी प्रवेश गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।