काठमाण्डौ । बर्डफ्लुको प्रभावका कारण केही समयदेखि निरन्तर ओरालो लागेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादनमा कमी आउनु र बजारमा माग बढ्दै जानुले मूल्यमा सुधार देखिएको हो।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४५० बाट बढाएर रु ५०० कायम गरिएको छ। त्यसैगरी, मध्यम अण्डाको मूल्य रु ४२० बाट रु ४७० पुर्याइएको छ भने सानो अण्डाको मूल्य प्रतिक्रेट रु ४१५ निर्धारण गरिएको छ। तीनै वर्गका अण्डामा प्रतिक्रेट रु ५० का दरले मूल्य वृद्धि गरिएको हो।
बर्डफ्लुको प्रभावका कारण दैनिक करिब ४५ लाख गोटा उत्पादन हुने अण्डा घटेर हाल करिब २८ लाख गोटामा सीमित भएको छ। उत्पादनमा आएको गिरावटसँगै पछिल्ला दिनमा बजारमा अण्डाको माग बढेकाले मूल्यमा सुधार आएको हो ।
जेठ महिनाको अन्त्यतिर प्रतिक्रेट रु ५५० सम्म पुगेको अण्डाको मूल्य पछि घटेर रु ४५० मा झरेको थियो। हाल माग बढेसँगै मूल्य पुनः उकालो लाग्न थालेको हो।
यद्यपि, मूल्य वृद्धि भए पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलका अनुसार एक क्रेट अण्डाको उत्पादन लागत करिब रु ५७३.६० अर्थात् प्रतिगोटा रु १९.१२ पर्छ।

