काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित सात जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाहीको बागमती नगरपालिका–११ मा निर्माणाधीन बागमती फनपार्क एन्ड रिसोर्ट आयोजनामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामा मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री साह, तत्कालीन प्रदेश सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापासहित सात जना छन्। आयोगले निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी र त्यसका आधिकारिक प्रतिनिधिलाई समेत प्रतिवादी बनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा फनपार्क तथा रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन—डीपीआर तयार गर्दा मूल डीपीआरमा नभएका संरचना थपिएको थियो। आयोजनाको आवश्यकता, जोखिम र आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययन नगरी संरचना थप्दै लागत अनुमान अस्वाभाविक रूपमा बढाइएको आयोगको आरोप छ।
ठेक्कामा प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तयार गरिएको तथा सीमित निर्माण व्यवसायीलाई लाभ पुग्ने गरी खरिद प्रक्रिया अघि बढाइएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
पहिलो चरणको डीपीआर पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको र सार्वजनिक खरिद ऐनविपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा सम्झौता गरिएको आरोपपत्रमा उल्लेख छ।
आयोगका अनुसार निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले ठेक्का प्राप्त गर्न मूल्याङ्कन प्रक्रियामा झुटा तथा किर्ते कागजातसमेत पेस गरेका थिए।
उक्त कार्यबाट सार्वजनिक सम्पत्तिमा ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ हानिनोक्सानी भएको दाबी गर्दै आयोगले सोही रकम बराबरको बिगो कायम गरेको छ। प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र बिगो असुलउपरको मागदाबी गरिएको छ।

