काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षकले कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गरेपछि मात्रै सरुवा हुन पाउने व्यवस्था यथावत् रहने बताएका छन् ।
शिक्षा पत्रकार समूहका प्रतिनिधिहरूसँग शुक्रबार भएको भेटघाटमा मन्त्री पोखरेलले शिक्षा नियमावली तत्काल संशोधन गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारे। ‘शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्छ। तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने मागका आधारमा शिक्षा नियमावली तत्काल संशोधन गर्न सकिँदैन,’ उनले भने।
उनले साताको दुई दिन अर्थात् शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था पनि निरन्तर कायम रहने जानकारी दिए। दुईदिने बिदा लोकप्रिय नभए पनि यसको प्रभाव र आवश्यकतालाई ध्यानमा राखेर सरकारले यो निर्णयलाई निरन्तरता दिने उनको भनाइ थियो।
‘शनिबार र आइतबार दुई दिनको बिदा अलोकप्रिय हो भन्ने थाहा छ, तर पनि यसले निरन्तरता पाउँछ। यो हट्दैन,’ मन्त्री पोखरेलले भने।
भेटघाटका क्रममा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधार, व्यवस्थापन र नीतिगत स्थायित्वका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षक व्यवस्थापनका विषयमा विद्यमान कानुनी व्यवस्थाअनुसार नै अघि बढिने बताउनुभयो।

