काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजीबजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing) र Covered Short Selling कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्थाबारे सरोकारवाला पक्षको राय तथा सुझाव संकलन गर्न उक्त अवधारणापत्र सार्वजनिक गरेको हो।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभजस्ता आधुनिक वित्तीय उपकरणलाई चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरेको थियो। सोही घोषणाअनुसार सेबोनले आफ्नो वार्षिक पूँजीबजार नीति तथा कार्यक्रममार्फत मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत र प्रक्रियागत संरचना विकास गर्ने योजना अघि बढाएको जनाएको छ।
बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा यस्ता सेवाले बजारको तरलता, गहिराइ, प्रतिस्पर्धात्मक क्षमता तथा कार्यकुशलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालमा पनि पूँजी बजारलाई आधुनिक, सुरक्षित तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले यी सेवालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने नीति लिइएको छ। यसका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
बोर्डबाट विभिन्न चार अध्यायमा विभाजन गरी अवधारणापत्र तयार गरिएको छ । जसको प्रथम अध्यायमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता, दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास तथा नेपालका लागि प्रमुख सिकाइ, तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण र चौथो अध्यायमा नेपालका लागि विशिष्टकृत नीति सिफारिश, जसअन्तर्गत नेपालको लागि उपयुक्त Margin Lending मोडल, Securities Lending Borrowing and Lending मोडल, Covered Short Selling मोडल प्रस्ताव गरिएको छ ।
उक्त अवधारणापत्रमा निकायगत तथा संस्थागत गर्नुपर्ने तयारी र भूमिका स्पष्टसँग किटान गरिएको छ । जसमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा सम्बन्धित अन्य निकायहरूको भूमिका स्पष्ट गरिएको छ। यस अवधारणापत्रले कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधि आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटेको छ।
सेबोनले सार्वजनिक परामर्शका क्रममा प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा आवरणयुक्त शर्ट सेलिङ्ग नियमावली तर्जुमा गरी सार्वजनिक गर्ने जनाएको छ। बोर्डले सम्बन्धित सबै सरोकारवालालाई आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको छ।
बोर्डका अनुसार यी नयाँ धितोपत्र वित्तीय सेवाको सफल कार्यान्वयनले नेपालको पूँजी बजारमा स्थायित्व, तरलता तथा लगानीकर्ताको सहभागिता वृद्धि हुने, नयाँ वित्तीय उपकरणको विकास हुने र निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

