शुक्रबार, श्रावण २२,२०८३ 04:50:57
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 04:50:57
Bizshala
Global IME Bank Limited

१५ दिनभित्र नागढुंगा–मुग्लिङ सडकका १८२ विद्युत पोल सार्न संसदीय समितिको निर्देशन

सडक विस्तार सुरु भएको पाँच वर्ष बित्दा पनि पोल नहटेकोमा समितिको गम्भीर चासो, ‘झ्यापझ्याप’ बत्ती जाने समस्या समाधान गर्न पनि प्राधिकरणलाई निर्देशन

१५ दिनभित्र नागढुंगा–मुग्लिङ सडकका १८२ विद्युत पोल सार्न संसदीय समितिको निर्देशन
New Office

 

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा–मुग्लिङ सडक खण्ड विस्तारमा अवरोध बनिरहेका १८२ वटा विद्युत पोल आगामी १५ दिनभित्र स्थानान्तरण गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिको बैठकले विद्युत पहुँच विस्तार, सडक निर्माणमा अन्तरनिकाय समन्वय तथा विद्युत वितरण प्रणाली सुधारसम्बन्धी पाँचबुँदे निर्देशन जारी गरेको हो।

समिति सभापति आशिष गजुरेलले बैठकका निर्णय सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

समितिले नागढुंगा–मुग्लिङ सडक विस्तार सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै १८२ वटा विद्युत पोल स्थानान्तरण हुन बाँकी रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सडक निर्माणमा अवरोध पुर्‍याइरहेका ती पोललाई प्राथमिकताका साथ तत्काल स्थानान्तरण गर्न र आगामी १५ दिनभित्र काम सम्पन्न गरी समितिलाई जानकारी गराउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ।

सडकको ठेक्काअघि नै पोल सार्ने योजना बनाउनुपर्ने

समितिले भविष्यमा सडक निर्माण र विद्युत संरचना स्थानान्तरणबीच देखिने समस्या समाधान गर्न सडक विभाग र नेपाल विद्युत प्राधिकरणलाई निर्माण सुरु हुनुअघि नै संयुक्त सर्वेक्षण गर्न निर्देशन दिएको छ।

सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीलाई समेत सहभागी गराएर सडकको ठेक्का सम्झौता हुनुअघि नै विद्युत पोल, तार तथा ट्रान्सफर्मर स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्ने समितिको निर्णय छ।

त्यस्तो कार्ययोजनामा संरचना स्थानान्तरण गर्ने समयसीमा र आवश्यक बजेटसमेत पहिले नै निर्धारण गर्नुपर्नेछ।

सडकको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थानबीच अनिवार्य समन्वय गर्न पनि समितिले निर्देशन दिएको छ। सडक निर्माण सकिएपछि फेरि विद्युत पोल सार्नुपर्ने अवस्था आउन नदिन सुरुदेखि नै एकीकृत योजना बनाउन सडक विभाग र प्राधिकरणलाई सचेत गराइएको छ।

दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्न निर्देशन

समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिमलगायत दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तारको काम तीव्र बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

विद्युत पहुँचबाट वञ्चित क्षेत्रलाई प्राथमिकतामा राखेर प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्नुपर्ने समितिको भनाइ छ।

‘झ्यापझ्याप’ बत्ती जाने समस्या समाधान गर्न दबाब

समितिले देशका विभिन्न क्षेत्रमा बारम्बार विद्युत ट्रिपिङ हुने र बत्ती ‘झ्यापझ्याप’ जाने समस्या समाधान गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

विद्युत वितरण प्रणालीलाई भरपर्दो बनाउन आवश्यकताअनुसार नयाँ ट्रान्सफर्मर जडान गर्न, फिडर थप गर्न तथा पुराना र कमजोर विद्युत संरचनाको स्तरोन्नतिमा लगानी बढाउन निर्देशन दिइएको छ।

समिति सभापति गजुरेलले वितरण प्रणाली सुधार गरी नागरिकलाई नियमित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.