काठमाण्डौ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म २० करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आयोजनाको पूर्ण सञ्चालन र वित्तीय खर्चमा आएको गिरावटले नाफा वृद्धिमा प्रमुख भूमिका खेलेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७२ करोड ४० लाख रुपैयाँ रहेको थियो । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले विद्युत बिक्री आम्दानी विगतको त्रैमासको तुलनामा बढेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीको प्रशासनिक खर्च १ करोड ६१ लाखबाट घटेर १ करोड ६० लाखमा सीमित बनेको छ भने कर्मचारी खर्च भने १ करोड ७१ लाखबाट बढेर १ करोड ८२ लाख पुगेको छ । साथै, कर्मचारी बोनस खर्च १ करोड ७१ लाखबाट बढेर १ करोड ८२ लाख पुगेको छ ।
यो अवधिमा कम्पनीको वित्तीय खर्च २८ करोड ३८ लाखबाट घटेर १९ करोड ९८ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४२ करोड ७३ लाख रुपैयाँ र चालु दायित्व २५ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १५.४६ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११९.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.६२ गुणा तथा तरलता अनुपात १.६५ गुणा कायम रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।