बिहीबार, आश्विन २९,२०८३ 02:34:19
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:34:19
Bizshala
Global IME Bank Limited

आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छु: सेबोन अध्यक्ष भट्ट

Bizshala
आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छु: सेबोन अध्यक्ष भट्ट
New Office

काठमाण्डौ । लगातारको गिरावटका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,६५० अंक आसपास झरेको अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजार सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन्।

अध्यक्ष भट्टले विद्यमान कानुनी जटिलताका कारण बजार सुधारमा समस्या देखिए नयाँ धितोपत्र ऐन निर्माणका लागि आवश्यक पहल गर्ने बताए। ऐन निर्माणमा ढिलाइ भए आवश्यकताअनुसार अध्यादेशमार्फत समेत समस्या समाधान गर्न आफू तयार रहेको उनको भनाइ थियो।

संघका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्य ऋषि भेटवाल र विवेक श्रेष्ठसहितको टोलीले सेबोन अध्यक्षसँग भेट गरेको थियो।

भेटमा उपाध्यक्ष रावतले मुलुकको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल सीमित रहेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको विषय उठाएका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बजारमा हल्ला र अफवाहका आधारमा हुने उतारचढावका कारण विशेषगरी साना लगानीकर्ताको बचत जोखिममा परेको भन्दै सङ्घले सेयर बजारलाई सीमित समूहको नाफा कमाउने माध्यम नभई अर्थतन्त्रको विकासमा योगदान गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको थियो।

छलफलका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा देखिने भित्री कारोबार (इन्साइडर ट्रेडिङ), कृत्रिम रूपमा सेयर मूल्य बढाउने तथा घटाउने गतिविधि र सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनामाथि नियामकको प्रभावकारी निगरानीबारे प्रश्न उठाएका थिए।

जवाफमा अध्यक्ष भट्टले बजार सुधारका लागि आफूले काम अघि बढाइसकेको दाबी गर्दै लगानीकर्तालाई कम्पनी तथा बजारको वास्तविक अवस्था बुझेर मात्र लगानी गर्न आग्रह गरे। बोर्डले लगानीकर्ता सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।

तर, लगानीकर्ता प्रतिनिधिहरूले विगतमा पनि नियामक नेतृत्वबाट यस्तै प्रतिबद्धता आउने गरे पनि ठूला घटनामा प्रभावकारी कारबाही हुन नसकेको भन्दै कडा नियमन र शीघ्र अनुसन्धानको आवश्यकता औंल्याएका थिए।

अध्यक्ष भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ लागू गर्ने विषयमा आफू लामो समयदेखि अध्ययन तथा वकालत गर्दै आएको उल्लेख गर्दै अब यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने बताएका थिए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको र लगानीकर्ताले निकट भविष्यमै यसको प्रयोग गर्न पाउने उनको दाबी थियो। त्यसैगरी, बजारको आधुनिकीकरणका लागि बोर्डको आन्तरिक पूर्वाधार तथा संरचनागत क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता पनि अध्यक्ष भट्टले व्यक्त गरेका थिए।

संघका महासचिव रविन कँडेलले नियामक निकाय घोषणामा मात्र सीमित नभई प्रभावकारी नियमन र कडा कारबाहीमा केन्द्रित हुनुपर्ने बताए। नयाँ नेतृत्वले सार्वजनिक गरेको श्वेतपत्र सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट समयसीमा निर्धारण गर्नुपर्ने उनको भनाइ थियो।

संघले भेटका क्रममा नयाँ धितोपत्र ऐनमा गैरजिम्मेवार वा गलत निर्णय गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा जवाफदेही बनाउने तथा अनुचित रूपमा प्राप्त नाफा फिर्ता गराउने व्यवस्था गर्न माग गरेको थियो।

त्यस्तै, बोर्डले गठन गर्ने विभिन्न अध्ययन तथा सुधारसम्बन्धी समितिमा सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि संघले अघि सारेको थियो। फछ्र्यौट प्रणालीका विषयमा बजारमा उठिरहेका गुनासो सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सङ्घले टी प्लस वान र टी प्लस टु फछ्र्यौट प्रणालीको प्रयोगबाट साना लगानीकर्तामाथि सम्भावित विभेद हुन नदिन स्पष्ट नीति आवश्यक रहेको बताएको थियो।

भेटको अन्त्यमा संघले सर्वसाधारण लगानीकर्ताको बचत र हित संरक्षण हुन नसके सेयर बजारप्रतिको विश्वास कमजोर हुने चेतावनी दिएको थियो। लगानीकर्ताका समस्या आश्वासनभन्दा पनि व्यवहारिक कामबाट सम्बोधन नभएसम्म नियामकका गतिविधिमाथि पूर्ण विश्वास गर्न कठिन हुने संघको निष्कर्ष थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.