काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको नाफा ९८.०१ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २९ करोड ७५ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ३३ करोड ७२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्चमा कमी आएको छ । अघिल्लो आवमा १० करोड ९९ लाख रहेको कम्पनीको वित्त खर्च ६ करोड ९८ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रशासनिक खर्च पनि ९९ लाख ८६ हजारबाट घटेर ८८ लाख ७५ हजार र कर्मचारी सुविधा खर्च १ करोड १९ लाखबाट घटेर ७० लाख ८४ हजारमा सीमित बनेको छ ।
१ अर्ब १८ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड २२ लाख र कुल चालु दायित्व ४ करोड ९० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५८.२७ गुणा र तरलता अनुपात २.७० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।