काठमाण्डौ । सरकारले आगामी पाँच वर्षभित्र देशका शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ।
बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले हाल देशभर करिब ९७ प्रतिशत नागरिकसम्म खानेपानीको कभरेज पुगे पनि प्रशोधित तथा सुरक्षित खानेपानीको पहुँच भने करिब ३० प्रतिशतमा सीमित रहेको जानकारी दिए।
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सचिव सिग्देलले उक्त लक्ष्य पूरा गर्न संघ, प्रदेश र स्थानीय तीनै तहले समन्वय गरेर कार्ययोजना कार्यान्वयन गर्नुपर्ने बताए। प्रदेश र स्थानीय तहलाई संघ सरकारले सशर्त अनुदानमार्फत सहयोग गर्ने उनको भनाइ छ।
पानीका मुहान सुक्दै गएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न हिमनदीको पानी तराईसम्म पुर्याउने योजनालाई पनि प्राथमिकता दिइएको छ।
हिमनदीको पानी डाइभर्सनमार्फत तराईमा पुर्याउन सकिए भूगर्भीय पानीमा निर्भरता घट्ने, लागत कम हुने र खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।