काठमाण्डौ । सागर डिस्टिलरीको घाटा झनै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ५३ लाख रुपैयाँ घाटामा थियो ।
बिक्री आम्दानी बढेपनि पनि खर्च नियन्त्रणमा असफल हुँदा कम्पनीको घाटा झनै बढेको हो। कम्पनीको बिक्री आम्दानी १९ करोड ४० लाख रुपैयाँबाट बढ्दै ४७ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
खर्चगत रुपमा हेर्दा कर्मचारी सुविधा खर्च ४ करोड २७ लाख रुपैयाँबाट बढेर ५ करोड २० लाख रुपैयाँ पुगेको छ। प्रशासनिक तथा अन्य खर्च ८३ लाख ७९ हजार रुपैयाँबाट बढेर १ करोड ४ लाख पुगेको छ भने बिक्री तथा वितरण खर्च पनि ३ करोड ५८ लाख रुपैयाँबाट बढेर ८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
वित्त खर्च समेत १ करोड ७३ लाख रुपैयाँबाट बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति ७६ करोड ५७ लाख र कुल चालु दायित्व ३६ करोड ४१ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८९ रुपैयाँले ऋणात्मक, तरलता अनुपात २.१० प्रतिशत र प्रतिसेयर नेटवर्थ ११९.९६ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।