काठमाण्डौ । सरकारले उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाण्डौका विभिन्न स्थानमा २४ सै घण्टा ग्यास बिक्रीको व्यवस्था गर्ने तयारी थालेको छ।
उद्योग मन्त्रालयमा शुक्रबार भएको छलफलमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ग्यास बिक्रीलाई नियमित र सहज बनाउन शहरका विभिन्न स्थान पहिचान गरी बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
पौडेलका अनुसार काठमाण्डौका उपयुक्त स्थान छनोट गरी करिब ३० देखि ५० वटासम्म बिक्री केन्द्रमार्फत ग्यास उपलब्ध गराउने तयारी छ। ती केन्द्रबाट उपभोक्ताले आवश्यक परेको समयमा ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाउने सरकारको तयारी छ।
ग्यासको माग बढ्ने समय, आकस्मिक अभाव तथा बजारमा आपूर्ति प्रभावित हुँदा उपभोक्ताले भोग्दै आएको समस्या कम गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि बढाइएको हो।
सरकारले बिक्री केन्द्रका लागि काठमाण्डौका विभिन्न क्षेत्रको आवश्यकता, उपभोक्ताको पहुँच तथा ग्यासको मागलाई आधार बनाएर स्थान छनोट गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए काठमाडौंमा ग्यास खरिदका लागि निश्चित समय पर्खिनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।