काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ । अन्य आम्दानी घट्दा कम्पनीको नाफा गत आवको चौथो त्रैमाससम्म ९७.३६ प्रतिशतले घटेको छ ।
अघिल्लो आवमा भने कम्पनीले ७ करोड २३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले विद्युत बिक्री गरेर ५ करोड १७ लाख कमाएको थियो ।
यस्तै कम्पनीको अन्य आम्दानी उल्लेख्य घटेको छ । अघिल्लो आवमा १३ करोड ३ लाख रहेको कम्पनीको अन्य आम्दानी घटेर २ हजार ९९१ मा सीमित बनेको छ ।
कम्पनीको वित्त खर्च ३ करोड ४६ लाखबाट घटेर २ करोड ६७ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार २ लाख १७ हजार रुपैयाँले धनात्मक बनेको छ । जुन अघिल्लो आवमा १ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । २२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ९२ लाख र कुल चालु दायित्व ५ करोड ५५ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.२६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १००.१० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७६.५१ रुपैयाँ र तरलता अनुपात ७९.६७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।