काठमाण्डौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा बस्ने बैठकमा विभिन्न विधेयकलाई छलफल तथा प्रक्रियामा अघि बढाउने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सोमबारका कार्यसूचीमा रहेका विधेयकहरू अघि बढेसँगै बालबालिका संरक्षण, मानव बेचबिखन नियन्त्रण, राहदानी व्यवस्थापन, खानी तथा खनिज पदार्थ र पशु रोग नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थामा थप छलफल हुने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।