काठमाण्डौ । बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेर प्रतिकिलो १२० रुपैयाँसम्म पुगेका बेला यसको सहज आपूर्ति र मूल्य नियन्त्रणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक नै स्थगित भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार बिहान १० बजे चिनीको आपूर्ति अवस्था र बजार मूल्यबारे छलफल गर्न बैठक बोलाएको थियो। तर समिति सचिवालयले ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित भएको सूचना जारी गरेको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित सम्बन्धित सरोकारवालालाई आमन्त्रण गरिएको थियो। बजारमा देखिएको चिनी अभाव, आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिबारे सरकार तथा सरोकारवालासँग जवाफ माग्ने तयारी भए पनि बैठक नै बस्न सकेन।
पछिल्लो समय खुद्रा बजारमा चिनीको मूल्य तीव्र रूपमा बढेको छ। केही समयअघिसम्म प्रतिकिलो करिब ९५ रुपैयाँमा पाइने चिनी अहिले विभिन्न स्थानमा १२० रुपैयाँसम्म बिक्री भइरहेको छ।
मूल्यवृद्धिको विषयमा उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेका बेला यसको प्रत्यक्ष मार भने सर्वसाधारण उपभोक्ताले खेपिरहेका छन्। चिनीको मूल्य एकाएक बढ्नुको कारण, आपूर्ति अवस्था र मूल्य नियन्त्रणका उपायबारे संसदीय समितिमा छलफल हुने अपेक्षा गरिएको थियो।
तर उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भइरहेका बेला महत्वपूर्ण बैठक नै स्थगित भएपछि चिनीको मूल्य र आपूर्तिको समस्या तत्काल समाधान हुनेमा थप अन्योल देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।