काठमाण्डौ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड सञ्चालनमा आएको छ। पीडित परिवार र सरकारबीच नयाँ सहमति बनेपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो। सडक खुलेसँगै यस क्षेत्रमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् भने औद्योगिक गतिविधि पनि सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ।
पीडित परिवारले यसअघि भएको सहमति अस्वीकार गरेपछि आन्दोलन लम्बिएको थियो। त्यसपछि गरिमाका आमाबुबा शनिबार काठमाण्डौ पुगेर गृहमन्त्रीसँग छलफल गरेपछि नयाँ सहमति जुटेको हो। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार गृह मन्त्रालयमा भएको छलफलपछि आन्दोलन स्थगित गर्ने वातावरण बनेको हो।
नयाँ सहमतिले घटनाको न्यायिक प्रक्रियासँगै जघन्य अपराधसम्बन्धी कानुन सुधारको विषयलाई समेत अगाडि सारेको छ। सहमतिअनुसार जघन्य आपराधिक घटनामा विद्यमान कसुर तथा सजायसम्बन्धी कानुनी प्रावधान पुनरावलोकन गरी आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिनेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी प्रक्रिया अघि बढाइने सहमति भएको छ।
यसैगरी, गरिमाको स्मृतिमा सालिक निर्माणका लागि सहरी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने तथा परिवारको रीतिरिवाज र संस्कारअनुसार अन्त्येष्टि गर्ने विषयमा पनि सहमति भएको छ।
घटनापछि दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता हुनुपर्ने माग गर्दै स्थानीयवासी तथा परिवार आन्दोलनमा उत्रिएका थिए। सडक अवरोधका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरको यातायात प्रभावित हुँदा उद्योग तथा व्यवसायसमेत असरमा परेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।