काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरनजिकैको झाडीमा मृत फेला परेकी हुन्।
परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्। त्यसपछि उनी नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए।
खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडिको झाडीमा बालिकाको शव फेला परेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिकाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनास्थलको निरीक्षणसँगै आवश्यक प्रमाण संकलन तथा घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
बालिकाको मृत्युको कारण भने हालसम्म खुलिसकेको छैन। अनुसन्धान पूरा भएपछि मात्रै घटनाको वास्तविक कारणबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण बनेको छ भने घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।