काठमाण्डौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा भएका आपराधिक घटना नेपाल प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्ति वर्षौँपछि पनि कानुनी दायरामा आउन सक्ने बताएका छन्।
उनले व्यक्तिको स्मरण कमजोर हुन सक्ने भए पनि संस्थागत रूपमा प्रहरीले अपराधका घटना नबिर्सने बताए। पुराना तथा जघन्य प्रकृतिका मुद्दामा निरन्तर अनुसन्धान भइरहेकाले समय बित्दैमा अपराधी उम्कन नसक्ने उनको भनाइ छ।
‘व्यक्तिको स्मरण छोटो हुन सक्छ, तर प्रहरी न्यायका लागि निरन्तर काम गर्ने संस्था हो। यो संस्थाले अपराधका घटना बिर्सँदैन,’ कार्कीले भने।
यद्यपि सबै पुराना मुद्दामा अपेक्षित सफलता प्राप्त हुन नसकेको उनले स्वीकार गरे। पुराना घटनाको पुनःअध्ययन, प्रमाणको विश्लेषण र निरन्तर अनुसन्धानमार्फत संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ।
कार्कीका अनुसार केही चर्चित तथा जघन्य अपराध अनुसन्धानका लागि विशेष टोलीसमेत गठन गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना गम्भीर अपराधका फाइल पुनःखोल्दै अनुसन्धान अघि बढाइएको उनले बताए।
‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ उनले भने।
परम्परागत अनुसन्धानले मात्रै पुग्दैन
आईजीपी कार्कीले बदलिँदो समाज, प्रविधि र अपराधको स्वरूपले सुरक्षा चुनौती पनि जटिल बन्दै गएको बताए। आधुनिक अपराध नियन्त्रणका लागि परम्परागत अनुसन्धान शैली मात्रै पर्याप्त नहुने उनको भनाइ छ।
प्रहरी कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सूचक तयार गरिएको उनले जानकारी दिए। कामका आधारमा मूल्यांकन हुने व्यवस्थाले प्रहरी कर्मचारीलाई सुधार र क्षमता विकासको अवसर दिने उनको भनाइ छ।
घरबाटै प्रहरी सेवा लिन सकिने
कार्कीले नेपाल प्रहरीलाई क्रमशः प्रविधिमैत्री बनाइँदै लगिएको पनि बताए। नागरिकले सामान्य आवेदन, निवेदन तथा सेवाबारे जानकारी लिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता घटाउने गरी डिजिटल प्रणाली विकास भइरहेको उनले जानकारी दिए।
नेपाल पुलिस एपमार्फत विभिन्न सेवा लिन सकिने व्यवस्था विस्तार भइरहेको उनको भनाइ छ।
साइबर र आर्थिक अपराध चुनौती
पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै कार्कीले यस्ता अपराध अनुसन्धानका लागि विशेषज्ञ जनशक्ति आवश्यक रहेको बताए।
यसका लागि विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको र आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना तथा परिचालन गर्ने तयारी भइरहेको उनले बताए।
अपराधको अन्तर्राष्ट्रिय सञ्जाल नियन्त्रणका लागि नेपाल प्रहरीले इन्टरपोल तथा विभिन्न देशका प्रहरी संगठनसँग समन्वय गरिरहेको पनि कार्कीले जानकारी दिए।
उनका अनुसार आधुनिक ‘पुलिसिङ’का मापदण्ड अपनाउँदै विदेशी विशिष्टीकृत अनुसन्धान निकायसँग अनुभव तथा सूचनाको आदानप्रदान भइरहेको छ।
‘अपराधीबारे सूचना दिनुस्’
नेपाल प्रहरी नागरिकसँग सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सुरक्षा निकाय भएको उल्लेख गर्दै कार्कीले अपराध नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको बताए।
उनले आपराधिक गतिविधि वा शंकास्पद व्यक्तिबारे प्रहरीलाई समयमै सूचना दिन नागरिकसँग आग्रह गरे।
‘प्रहरीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न आमनागरिकको सहयोग चाहिन्छ,’ उनले भने, ‘आपराधिक प्रवृत्तिका व्यक्तिबारे सूचना दिएर प्रहरीलाई सहयोग गर्नुस्।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।