सोमबार, भाद्र ८,२०८३ 11:16:40
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 11:16:40
Bizshala
Global IME Bank Limited

Exclusive: एनसीएमको करोडौं सीओडी यतिमाण्डू पुगेपछि कहाँ हरायो ?

वर्षान्तमा बैंक मौज्दात शून्य, मर्चेन्टलाई तिर्नुपर्ने रकम पनि गायब; एनसीएमकै पत्रले खोल्यो रहस्यमय भुक्तानी सम्बन्ध

Exclusive: एनसीएमको करोडौं सीओडी यतिमाण्डू पुगेपछि कहाँ हरायो ?
New Office

काठमाडौं। एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँको राजस्व चुहावट अभियोग खेपिरहेको नेपाल क्यान मुभ प्रालि (एनसीएम) सँग जोडिएको अर्को कम्पनी ‘यतिमाण्डू प्रालि’को रहस्यमय वित्तीय कारोबार सतहमा आएको छ।

एनसीएमले आफ्नै आधिकारिक पत्रमा ग्राहकबाट संकलन हुने Cash on Delivery (COD) रकम यतिमाण्डूमार्फत ‘रुट’ तथा ‘प्रोसेस’ गरिने लिखित जानकारी दिएको छ। तर त्यही यतिमाण्डूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणमा वर्षभरको सञ्चालन आम्दानी जम्मा ३ लाख २२ हजार ९१६ रुपैयाँ देखाइएको छ।

वर्षको अन्त्यमा कम्पनीको नगद तथा बैंक मौज्दातसमेत शून्य छ।

अझ गम्भीर प्रश्न-एनसीएमबाट प्राप्त सीओडी रकम, मर्चेन्टलाई हस्तान्तरण गरिएको रकम, मर्चेन्टलाई दिन बाँकी रकम, बैंक सेटलमेन्ट तथा भुक्तानी प्रशोधनको कुल परिमाण यतिमाण्डूको वित्तीय विवरणमा कतै खुलाइएको छैन।

यसले एनसीएमले लिखित रूपमै स्वीकार गरेको सीओडी भुक्तानी सम्बन्ध र यतिमाण्डूले प्रस्तुत गरेको वित्तीय विवरणबीच ठूलो ‘ब्ल्याक होल’ देखाएको छ।

एनसीएमको सीओडी रकम साँच्चै यतिमाण्डूमार्फत रुट गरिएको थियो भने त्यसको परिमाण कति थियो ? त्यो रकम यतिमाण्डूको कुन बैंक खातामा जम्मा भयो? कति रकम मर्चेन्टलाई भुक्तानी गरियो ? कति रकम कम्पनी वा अन्य पक्षले सेवा शुल्कका रूपमा राखे ? र वित्तीय वर्षको अन्त्यमा त्यस्तो कारोबारको कुनै दायित्व वा बैंक मौज्दात किन देखिएन ?

यी प्रश्नको उत्तर यतिमाण्डूको उपलब्ध हिसाबले दिँदैन।

Bizshala
CG Motors

एनसीएमकै पत्र बन्यो पहिलो प्रमाण

एनसीएमले २०२५ जुन ८ मा जारी गरेको पत्रमा यतिमाण्डू प्रालिसँग ‘Payment Facilitation Partnership’ गरिएको उल्लेख छ।

पत्रमा एनसीएमको सीओडी भुक्तानी यतिमाण्डूमार्फत ‘रुट’ र ‘प्रोसेस’ गरिने व्यवस्था दुई कम्पनीबीचको सहमतिमा भएको व्यावसायिक संरचना रहेको जनाइएको छ।

अर्थात्, यतिमाण्डू र एनसीएमबीचको भुक्तानी सम्बन्ध बाह्य आरोप वा अनुमानमा आधारित छैन। एनसीएमकै आधिकारिक पत्रले यतिमाण्डूलाई आफ्नो सीओडी रकम प्रशोधन गर्ने कम्पनीका रूपमा प्रस्तुत गरेको छ।

यही पत्रले यतिमाण्डूको बैंक कारोबार र वित्तीय विवरणलाई एनसीएम प्रकरणको महत्त्वपूर्ण अनुसन्धानयोग्य कडी बनाएको हो।

यदि यतिमाण्डू एनसीएमको सीओडी भुक्तानीको औपचारिक मध्यस्थ थियो भने त्यससँग सम्बन्धित सम्झौता, बैंक खाता, दैनिक कारोबार, मर्चेन्ट सेटलमेन्ट तथा सेवा शुल्कको अभिलेख सुरक्षित हुनुपर्ने देखिन्छ।

तर यतिमाण्डूको वित्तीय विवरणले त्यस्तो कारोबारको समग्र तस्वीर देखाउँदैन।

सीओडी रकम कसरी चल्छ?

सीओडी कारोबारमा ग्राहकले सामान प्राप्त गर्ने समयमा कुरियर वा डेलिभरी प्रतिनिधिलाई रकम बुझाउँछ। डेलिभरी कम्पनीले उक्त रकम आफ्नो बैंकिङ प्रणालीमा जम्मा गरी निश्चित अवधिभित्र सम्बन्धित मर्चेन्ट वा सामान विक्रेतालाई हस्तान्तरण गर्छ।

यस प्रक्रियामा सेवा प्रदायकले निश्चित डेलिभरी तथा सीओडी शुल्क काट्न सक्छ। तर ग्राहकबाट उठाइएको सम्पूर्ण रकम सेवा प्रदायकको आम्दानी हुँदैन। त्यसको ठूलो हिस्सा मर्चेन्टको रकम हो।

त्यसैले सीओडी रकम प्रशोधन गर्ने कम्पनीको वित्तीय तथा बैंकिङ अभिलेखमा सामान्यतः तीनवटा महत्त्वपूर्ण विवरण देखिनुपर्ने हुन्छ:

-ग्राहकबाट संकलन भएको कुल सीओडी रकम, 

-मर्चेन्टलाई भुक्तानी गरिएको वा गर्न बाँकी रकम, 

-कम्पनीले आर्जन गरेको वास्तविक सेवा शुल्क। 

यतिमाण्डूको वित्तीय विवरणले सञ्चालन आम्दानी ३ लाख २२ हजार ९१६ रुपैयाँ देखाए पनि एनसीएमका तर्फबाट प्रशोधन गरेको कुल सीओडी रकम खुलाएको छैन।

यो ३ लाख २२ हजार रुपैयाँ सीओडी प्रशोधनबापत प्राप्त कमिसन मात्रै हो कि यतिमाण्डूले देखाएको सम्पूर्ण कारोबार हो भन्ने पनि स्पष्ट छैन।

यदि उक्त रकम कमिसन मात्रै हो भने त्यसको आधार बनेको कुल सीओडी कारोबार कति थियो भन्ने खुलाउनुपर्ने थियो। उदाहरणका लागि निश्चित प्रतिशत वा प्रति कारोबार शुल्कबापत ३ लाख २२ हजार रुपैयाँ आम्दानी भएको हो भने त्यसको पछाडि रहेको मूल कारोबार रकम वित्तीय विवरणका नोट तथा सम्बन्धित सम्झौताबाट पहिचान हुनुपर्ने हो।

तर उपलब्ध विवरणमा कमिसन दर, प्रशोधन गरिएको रकम, कारोबार संख्या वा मर्चेन्टको विवरण केही पनि छैन।

बैंकमा रकम छैन, दायित्वमा मर्चेन्ट पनि छैनन्

सीओडी रकम प्रशोधन गर्ने कम्पनीको बैंक खातामा आएको रकम तुरुन्तै मर्चेन्टलाई सेटल गरिएको हुन सक्छ। त्यस अवस्थामा वर्षको अन्त्यमा बैंक मौज्दात शून्य हुनु असम्भव होइन।

तर बैंक मौज्दात शून्य हुनु र वर्षभरको कारोबारको कुनै विवरण नहुनु फरक विषय हुन्।

यतिमाण्डूले सबै सीओडी रकम मर्चेन्टलाई भुक्तानी गरिसकेको हो भने बैंक स्टेटमेन्टमा एनसीएम वा त्यसका शाखाबाट आएको रकम र मर्चेन्टलाई पठाइएको रकम स्पष्ट देखिनुपर्छ। प्रत्येक रकमका लागि मर्चेन्ट लेजर, सेटलमेन्ट स्टेटमेन्ट र भुक्तानी भौचर हुनुपर्छ।

यदि कुनै सीओडी रकम आर्थिक वर्षको अन्त्यसम्म मर्चेन्टलाई भुक्तानी गर्न बाँकी थियो भने त्यो रकम वित्तीय विवरणमा दायित्वका रूपमा देखिनुपर्ने हो।

तर यतिमाण्डूको विवरणमा मर्चेन्टलाई तिर्नुपर्ने सीओडी रकम छुट्टै देखाइएको छैन। व्यापारिक प्राप्य रकमसमेत शून्य छ। नगद र बैंक मौज्दात पनि शून्य छ।

यसले तीनवटा सम्भावित अवस्था देखाउँछ।

पहिलो, यतिमाण्डूले आफूले प्राप्त गरेको सम्पूर्ण सीओडी रकम वर्षान्तअघि नै मर्चेन्टलाई सेटल गरिसकेको हुन सक्छ।

दोस्रो, सीओडी रकमलाई यतिमाण्डूको आफ्नै वित्तीय विवरणमा नसमेटी बैंक खाताबाट आउने-जाने ‘पास-थ्रु’ रकमका रूपमा मात्रै व्यवहार गरिएको हुन सक्छ।

तेस्रो, बैंक खातामा भएको वास्तविक कारोबार र यतिमाण्डूले प्रस्तुत गरेको लेखाबीच फरक हुन सक्छ।

यीमध्ये कुन अवस्था सत्य हो भन्ने बैंक स्टेटमेन्ट र मर्चेन्ट सेटलमेन्ट विवरणबिना पुष्टि हुन सक्दैन।

३ लाख आम्दानीको पछाडि कति थियो मूल कारोबार?

यतिमाण्डूले सञ्चालनबाट ३ लाख २२ हजार ९१६ रुपैयाँ आम्दानी देखाएको छ। यही अंकले अर्को महत्त्वपूर्ण प्रश्न जन्माउँछ-यो आम्दानी कुन दरमा र कुन आकारको सीओडी कारोबारबाट प्राप्त भएको हो ?

यदि यतिमाण्डूले सीओडी प्रशोधनबापत प्रतिशतका आधारमा कमिसन लिएको थियो भने ३ लाख २२ हजार रुपैयाँ आम्दानीको पछाडि धेरै ठूलो मूल कारोबार हुनसक्छ।

यदि प्रति कारोबार निश्चित शुल्क लिइएको थियो भने कति वटा कारोबार प्रशोधन भए भन्ने खुल्नुपर्ने हुन्छ।

तर वित्तीय विवरणमा न कारोबार संख्या छ, न कमिसन दर, न कुल प्रशोधित रकम।

यतिमाण्डू र एनसीएमबीच भएको सम्झौता सार्वजनिक नभएसम्म ३ लाख २२ हजार रुपैयाँ आम्दानीको आधार पहिचान गर्न सकिँदैन।

यसकारण अनुसन्धानको पहिलो चरणमा दुई कम्पनीबीच भएको मूल ‘Payment Facilitation Partnership’ सम्झौता झिकाउनुपर्ने हुन्छ। एनसीएमको पत्रले साझेदारी भएको पुष्टि गर्छ, तर सम्झौताका आर्थिक सर्त खुलाउँदैन।

सम्झौतामा यतिमाण्डूले कति शुल्क पाउने, सीओडी रकम कति समय राख्ने, मर्चेन्टलाई कसरी भुक्तानी गर्ने र हिसाब कसरी मिलाउने व्यवस्था थियो भन्ने खुलेपछि मात्रै आम्दानी र मूल कारोबारबीचको सम्बन्ध पत्ता लाग्न सक्छ।

एनसीएमको दैनिक सीओडी लेजर कहाँ छ?

एनसीएमको देशव्यापी डेलिभरी सञ्जालबाट ग्राहकसँग संकलन हुने सीओडी रकम सामान्यतः शाखा, डेलिभरी प्रतिनिधि, मर्चेन्ट र केन्द्रीय खाताबीच मिलान गर्नुपर्ने हुन्छ।

त्यसका लागि प्रत्येक अर्डरको Order ID, ग्राहकबाट उठाइएको रकम, रकम उठाउने कर्मचारी वा शाखा, सम्बन्धित मर्चेन्ट, सेटलमेन्ट मिति र बैंक भुक्तानी नम्बर सुरक्षित हुनुपर्ने देखिन्छ।

यदि एनसीएमले सीओडी रकम यतिमाण्डूलाई पठाएको हो भने एनसीएमको दैनिक सीओडी लेजर र यतिमाण्डूको बैंक खातामा आएको रकम एकअर्कासँग मिल्नुपर्छ।

त्यस्तै, यतिमाण्डूको खाताबाट मर्चेन्टलाई गएको रकम एनसीएमको मर्चेन्ट लेजरसँग मेल खानुपर्छ।

यिनै तीनवटा विवरण-एनसीएमको सीओडी लेजर, यतिमाण्डूको बैंक स्टेटमेन्ट र मर्चेन्टको प्राप्ति विवरण-एकै ठाउँमा राखेर भिडाउँदा रकमको वास्तविक यात्रा खुल्न सक्छ।

यी विवरण नमिलेको अवस्थामा कुन तहमा कति रकम हरायो, रोकियो वा अन्यत्र गयो भन्ने अनुसन्धान गर्न सकिन्छ।

बैंक स्टेटमेन्ट नै निर्णायक कडी

यतिमाण्डूको वित्तीय विवरणले उत्तर नदिएका प्रश्नको जवाफ सम्बन्धित बैंक खाताले दिन सक्छ।

बैंक स्टेटमेन्टबाट निम्न तथ्य खुल्न सक्छन्:

-एनसीएमबाट यतिमाण्डूको खातामा कुल कति रकम आयो? 

-रकम एनसीएमको केन्द्रीय खाताबाट आयो वा विभिन्न शाखा तथा व्यक्तिबाट? 

-रकम आएको दिन वा त्यसको केही समयपछि कहाँ पठाइयो? 

-भुक्तानी प्राप्त गर्नेहरू एनसीएमका वास्तविक मर्चेन्ट थिए कि अन्य व्यक्ति तथा कम्पनी? 

-एउटै रकम विभिन्न खातामा घुमाइएको थियो कि थिएन? 

-ठूलो परिमाणमा नगद निकालिएको थियो कि थिएन? 

-वर्षान्तअघि खाताको मौज्दात कृत्रिम रूपमा शून्य बनाइएको थियो कि सबै रकम वास्तविक मर्चेन्टलाई सेटल भएको थियो? 

केवल वर्षान्तको बैंक मौज्दात शून्य देखेर वर्षभर कुनै कारोबार नभएको निष्कर्ष निकाल्न मिल्दैन। कम्पनीको खातामा करोडौं रुपैयाँ आएर सोही वर्षभित्र बाहिरिएको भए वर्षान्तको मौज्दात शून्य नै देखिन सक्छ।

त्यसैले अनुसन्धानको मूल विषय ‘Closing Balance’ मात्रै होइन, आर्थिक वर्षभरको ‘Total Debit–Credit Turnover’ हो।

यतिमाण्डूको खातामा वर्षभर कति रकम जम्मा भयो र कति रकम बाहिरियो भन्ने अंक सार्वजनिक भएपछि मात्रै ३ लाख २२ हजार रुपैयाँको आम्दानीसँग त्यसको वास्तविक सम्बन्ध देखिनेछ।

मर्चेन्टहरूले पनि दिन सक्छन् प्रमाण

एनसीएममार्फत सामान पठाउने मर्चेन्टहरू यो अनुसन्धानका महत्त्वपूर्ण स्वतन्त्र स्रोत बन्न सक्छन्।

मर्चेन्टले आफ्नो खातामा सीओडी रकम एनसीएमबाट प्राप्त गरे वा यतिमाण्डूबाट ? बैंक विवरणमा रकम पठाउने कम्पनीको नाम के देखिन्थ्यो ? भुक्तानीमा ढिलाइ हुन्थ्यो कि हुँदैनथ्यो ? काटिएको शुल्कको बिल तथा कर बिजक कसले जारी गर्थ्यो?

यदि मर्चेन्टले यतिमाण्डूबाट रकम पाएका थिए भने कम्पनीको बैंक कारोबार प्रत्यक्ष पुष्टि हुन्छ।

तर मर्चेन्टले एनसीएमबाटै रकम प्राप्त गरेको देखिए यतिमाण्डूलाई बीचमा राख्नुको वास्तविक प्रयोजनमाथि थप प्रश्न उठ्छ।

यतिमाण्डूले रकम प्राप्त गरेर तुरुन्तै एनसीएम वा अन्य खातामा फिर्ता पठाएको थियो भने ‘Payment Facilitation’ को व्यावसायिक औचित्यसमेत परीक्षण गर्नुपर्ने हुन्छ।

अब सरकारी निकायले के झिकाउनुपर्छ?

यतिमाण्डूको भूमिकाबारे अनुमान होइन, बैंकिङ र डिजिटल अभिलेखमा आधारित अनुसन्धान आवश्यक देखिन्छ।

राजस्व अनुसन्धान विभागले एनसीएमको पोर्टलमा रहेको सीओडी विवरणलाई यतिमाण्डूको बैंक कारोबारसँग भिडाउन सक्छ। वित्तीय जानकारी इकाइले खातामा भएको असामान्य रकम प्रवाह र लाभग्राही पहिचान गर्न सक्छ। नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकबाट खाताको पूर्ण स्टेटमेन्ट, KYC र कारोबारसम्बन्धी अभिलेख झिकाउन सक्छ।

अनुसन्धानका लागि कम्तीमा निम्न कागजात आवश्यक देखिन्छन्:

-एनसीएम र यतिमाण्डूबीचको पूर्ण सम्झौता, 

-एनसीएमको दैनिक तथा मासिक सीओडी लेजर, 

-यतिमाण्डूको सम्पूर्ण बैंक स्टेटमेन्ट, 

-मर्चेन्टअनुसारको सेटलमेन्ट विवरण, 

-रकम भुक्तानी गरिएका बैंक खाता, 

-सेवा शुल्कको बिल तथा कर बिजक, 

-एनसीएम र यतिमाण्डूको ledger reconciliation, 

-मर्चेन्टबाट प्राप्त रकम बुझिलिएको पुष्टि। 

यी विवरण आपसमा मिले यतिमाण्डूले वैध रूपमा सीओडी रकम प्रशोधन गरेको पुष्टि हुन सक्छ। नमिलेको अवस्थामा लेखामा नदेखिएको रकम र त्यसको गन्तव्यमाथि थप अनुसन्धानको आधार तयार हुन्छ।

करोडौंको सम्भावित प्रवाह, हिसाबमा तीन लाखको झिल्को

अहिलेसम्म उपलब्ध कागजातले दुईवटा तथ्य स्पष्ट पारेका छन्।

पहिलो, एनसीएमले आफ्नो सीओडी भुक्तानी यतिमाण्डूमार्फत रुट तथा प्रोसेस गरिएको लिखित जानकारी दिएको छ।

दोस्रो, यतिमाण्डूले आर्थिक वर्षभरको सञ्चालन आम्दानी ३ लाख २२ हजार ९१६ रुपैयाँ र वर्षान्तको नगद तथा बैंक मौज्दात शून्य देखाएको छ।

तर एनसीएमबाट यतिमाण्डूमार्फत गएको कुल सीओडी रकम कति थियो भन्ने अंक कतै खुलेको छैन।

यही नखुलेको अंक एनसीएम प्रकरणको नयाँ र महत्त्वपूर्ण कडी हो।

तीन लाख २२ हजार रुपैयाँ यतिमाण्डूको कमिसन आम्दानी मात्रै हो भने त्यसको पछाडि रहेको मूल कारोबार सार्वजनिक हुनुपर्छ। त्यो नै सम्पूर्ण कारोबार हो भने एनसीएमले कुन परिमाणको सीओडी रकम यतिमाण्डूमार्फत रुट गरेको थियो भन्ने स्पष्ट हुनुपर्छ।

रकम मर्चेन्टलाई पूर्ण रूपमा सेटल भएको हो भने बैंक स्टेटमेन्ट र मर्चेन्ट लेजरले त्यसलाई प्रमाणित गर्नुपर्छ। रकम अन्यत्र गएको हो भने त्यसको अन्तिम लाभग्राही पहिचान हुनुपर्छ।

एनसीएमको एउटा पत्रले यतिमाण्डूसम्म रकमको बाटो देखाएको छ। तर त्यहाँबाट रकम कहाँ पुग्यो भन्ने नक्सा अझै गायब छ।

अब त्यो नक्सा कम्पनीको बयानले होइन-बैंक स्टेटमेन्ट, सीओडी लेजर र मर्चेन्टको खाताले कोर्नेछ।

(एनसीएम तथा सम्बद्ध पक्षविरुद्धको राजस्व चुहावट मुद्दा अदालतमा विचाराधीन छ। प्रस्तुत समाचार उपलब्ध कम्पनी कागजात र वित्तीय विवरणको विश्लेषणमा आधारित छ। रकम दुरुपयोग वा अन्य वित्तीय कसुर भएको/नभएको विषय अधिकारप्राप्त निकायको अनुसन्धानबाट मात्रै निर्क्योल हुनेछ।)

एनसीएम प्रकरणसँग सम्बन्धित थप समाचारहरु :

-अस्ट्रेलियाबाट नियन्त्रण, नेपालमा कारोबार, कर विवरणमै ‘गेम’ ? बहुमत सेयरधनी सम्पर्कविहीन, अब त्यही कम्पनीलाई कर छुट दिने तयारी !

-एनसीएम प्रकरणमा नयाँ खुलासा: ‘यति माण्डू’को खाताबाट रकम बहिर्गमनको आशंका, सम्पत्ति शुद्धीकरणमा उजुरी

-एनसीएमको अर्बको मुद्दा मिलाउन बालुवाटारदेखि अनुसन्धान विभागसम्म दबाब

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.