मंगलवार, भाद्र ९,२०८३ 08:36:21
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 08:36:21
Bizshala
Global IME Bank Limited

नेप्सेमा व्यापक फेरबदल: नयाँ इन्डेक्स, नयाँ सर्किट ब्रेकर र मोबाइल कारोबार

एआई प्रयोगको ढोका खुल्दै: नेप्सेलाई बोर्डको १९ बुँदे ‘सुधार आदेश’

नेप्सेमा व्यापक फेरबदल: नयाँ इन्डेक्स, नयाँ सर्किट ब्रेकर र मोबाइल कारोबार
New Office

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपालको दोस्रो बजार कारोबारलाई प्रविधिमैत्री, सुरक्षित र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई १९ बुँदे निर्देशन दिएको छ।

बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को सुरक्षा अडिट गराउनदेखि मोबाइल एपबाटै सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको हो। यस्तै, बजार बन्द भएपछि अर्डर राख्न सकिने ‘आफ्टर मार्केट अर्डर’ कार्यान्वयन, कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रविधि प्रयोग, नयाँ बेन्चमार्क इन्डेक्स निर्माण तथा कारोबारको अन्तिम १५ मिनेटसम्बन्धी व्यवस्थाको पुनरावलोकनसमेत निर्देशनमा समेटिएको छ।

पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा चालु आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा समेटिएका सुधार कार्यक्रम कार्यान्वयन गर्ने क्रममा बोर्डले मंगलबार नेप्सेलाई यस्तो निर्देशन जारी गरेको हो।

Bizshala
CG Motors

टीएमएसको सुरक्षा अडिट अनिवार्य

लगानीकर्ताले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक कमजोरी र सुरक्षासम्बन्धी जोखिम देखिन सक्ने भन्दै बोर्डले नेप्सेबाट स्वीकृत टीएमएस प्रणालीको सूचना प्रविधि सुरक्षा अडिट अर्थात् ‘आईटी अडिट/भीएपीटी’ गराउन निर्देशन दिएको छ। अडिट सम्पन्न भएपछि त्यसको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ।

हाल प्रयोगमा रहेको धितोपत्र कारोबार प्रणाली ‘नट्स’मा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरण र कारोबार सुविधासहित प्रणालीलाई थप आधुनिक तथा सक्षम बनाउन पनि नेप्सेलाई भनिएको छ। सुरक्षित र निर्वाध कारोबार सुनिश्चित गर्न प्रणालीगत सुधार तत्काल अघि बढाउनुपर्ने बोर्डको निर्देशन छ।

एआई प्रयोगको सम्भाव्यता अध्ययन

धितोपत्र कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकतामा आधारित प्रविधि प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था विकास गर्न बोर्डले नेप्सेलाई सम्भाव्यता अध्ययन गर्न भनेको छ।

यसका लागि अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको विद्यमान पूर्वाधार तथा आवश्यक कानुनी एवं अन्य व्यवस्थाको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्नुपर्नेछ।

तर, कारोबार प्रणालीसँग जोडिएका सबै टीएमएसमा आवश्यक नियन्त्रण व्यवस्था नबनेसम्म एआईमा आधारित प्रविधि प्रयोगबाट कारोबार प्रविष्ट भएको अर्डर पहिचान गरी रोक्नुपर्नेछ। यस्तो कारोबार नरोकिए त्यससम्बन्धी सूचना लगानीकर्तालाई सार्वजनिक गर्नुपर्ने निर्देशनसमेत बोर्डले दिएको छ।

मोबाइल एपबाटै सेयर कारोबार

बोर्डले दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न सकिने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको छ। यो व्यवस्था कार्यान्वयन भएपछि लगानीकर्ताले कम्प्युटर वा वेब ब्राउजरमा मात्र निर्भर नभई मोबाइल एपबाटै खरिद–बिक्री आदेश प्रविष्ट गर्न सक्नेछन्।

नयाँ तथा विद्यार्थी लगानीकर्तालाई सेयर बजारको प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्म ‘demotrading.nepalstock.com’ लाई नियमित सञ्चालनमा राख्न पनि निर्देशन दिइएको छ।

‘आफ्टर मार्केट अर्डर’ प्रभावकारी बनाउनुपर्ने

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ अनुसारको ‘आफ्टर मार्केट अर्डर’ अर्थात् एएमओलाई प्रभावकारी रूपमा लागू गराउन बोर्डले नेप्सेलाई भनेको छ।

यो प्रणाली लागू भएपछि नियमित कारोबार समय सकिएपछि पनि लगानीकर्ताले अर्को कारोबार दिनका लागि खरिद वा बिक्री आदेश राख्न सक्नेछन्।

सी–केवाईसीबाटै टीएमएस खाता

सीडीएस एन्ड क्लियरिङले सञ्चालनमा ल्याएको केन्द्रीकृत ग्राहक पहिचान प्रणाली ‘सी–केवाईसी’लाई टीएमएस खाता खोल्ने प्रक्रियासँग जोड्न पनि नेप्सेलाई निर्देशन दिइएको छ। अब धितोपत्र कारोबारका लागि टीएमएस खाता खोल्दा सी–केवाईसी गर्न वा त्यसमा भएको विवरण प्रयोग गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ।

फ्री फ्लोटका आधारमा नयाँ बेन्चमार्क इन्डेक्स

बोर्डले हालको नेप्से परिसूचकलाई ‘अल इक्विटी इन्डेक्स’का रूपमा कायम राख्दै सर्वसाधारणको कारोबारका लागि उपलब्ध सेयर अर्थात् ‘फ्री फ्लोट सेयर’का आधारमा छुट्टै परिसूचक विकास गर्न निर्देशन दिएको छ।

नयाँ परिसूचकलाई बजारको बेन्चमार्क इन्डेक्सका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन नेप्सेले तत्काल काम अघि बढाउनुपर्नेछ। यसका लागि आवश्यक सहजीकरण गर्नुपर्ने विषय पनि बोर्डमा पेस गर्न भनिएको छ।

फ्री फ्लोट सेयरमा आधारित नयाँ बेन्चमार्क परिसूचक सञ्चालनमा आएपछि सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्नुपर्नेछ।

अन्तिम १५ मिनेटको कारोबारबाट नेप्से इन्डेक्स गणना गर्ने प्रस्ताव

बोर्डले सूचक निर्माणका लागि स्थापना गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार मानेर नेप्से इन्डेक्स गणना गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न निर्देशन दिएको छ।

कारोबार समयको अन्त्यमा हुने ‘मार्केट अर्डर’ व्यवस्थापन तथा सूचीकृत कम्पनीको दोस्रो बजार कारोबारमा लागू हुँदै आएको दैनिक १५ प्रतिशतसम्मको मूल्य घटबढ सीमासम्बन्धी सर्किट ब्रेकर व्यवस्था पुनरावलोकन आवश्यक रहे–नरहेको विषयमा समेत अध्ययन गर्नुपर्नेछ। नेप्सेले अध्ययन र सुझावसहितको प्रतिवेदन एक महिनाभित्र बोर्डमा पेस गर्नुपर्ने निर्देशन छ।

कम्पनीहरूको नयाँ वर्गीकरण, नेप्से–५० र हाई क्याप इन्डेक्सको तयारी

सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता र संस्थागत सुशासनको अवस्थाका आधारमा कम्पनी वर्गीकरण प्रणालीलाई वस्तुनिष्ठ बनाउन पनि बोर्डले नेप्सेलाई भनेको छ।

पूँजी, प्रतिफल र तरलतालगायत सूचकका आधारमा लगानीयोग्य तथा अन्य प्रकृतिका ‘नेप्से इन्डेक्स’ विकास गर्नुपर्नेछ। बोर्डले उदाहरणका रूपमा ‘नेप्से–५०’ र ‘नेप्से हाई क्याप’जस्ता परिसूचक उल्लेख गरेको छ।

नेप्सेका परिसूचकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन प्रचलित अन्तर्राष्ट्रिय सूचक गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउन पनि निर्देशन दिइएको छ। हाल गणना भइरहेको सेन्सेटिभ इन्डेक्सको संरचना र गणना प्रक्रिया पनि पुनरावलोकन गर्नुपर्नेछ।

निष्क्रिय कम्पनीमाथि अध्ययन

सूचीकृत भएको लामो समयसम्म दोस्रो बजार कारोबारमा सक्रिय नरहेका कम्पनीका सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधार आवश्यक भए–नभएको अध्ययन गरी बोर्डलाई सिफारिस गर्न निर्देशन दिइएको छ।

संगठित संस्था सूचीकृत भएपछि पहिलो कारोबार मूल्य निर्धारण गर्ने विद्यमान व्यवस्थालाई थप वैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन पनि नेप्सेले काम गर्नुपर्नेछ।

कम्पनीका आधिकारिक सूचना एउटै पोर्टलमा

सूचीकृत कम्पनीका आधिकारिक सूचना व्यवस्थित रूपमा प्रवाह गर्न नेप्सेले ‘data.nepalstock.com’ पोर्टल विकास गरी सञ्चालनमा ल्याउनुपर्नेछ। यसबाट लगानीकर्ताले सूचीकृत कम्पनीका आधिकारिक विवरण तथा सूचना एउटै प्रणालीबाट प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

नेप्सेलाई महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ।

टी प्लस टूभित्र लगानीकर्तालाई पैसा

बोर्डले धितोपत्र कारोबारको ‘टी प्लस टू’ अवधिभित्र बिक्रीकर्ता ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

हाल धितोपत्र बिक्रीपछि ब्रोकरबाट रकम प्राप्त गर्न लगानीकर्ताले ढिलाइ भोग्नुपरेको गुनासो आउने गरेको छ। नयाँ निर्देशन प्रभावकारी रूपमा लागू भए कारोबार सम्पन्न भएको दुई कार्यदिनभित्र लगानीकर्तालाई बिक्री रकम उपलब्ध गराउनुपर्ने व्यवस्था थप कडाइका साथ कार्यान्वयन हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X