काठमाण्डौ । रसुवामा आएको बाढीपछि रसुवा भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी, उद्धार तथा समन्वयको काम जारी रहेको जनाइएको छ।
रसुवा भन्सार कार्यालयमा कुल ३६ स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी हाल सम्पर्कमा आएका छन्।
त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा रहेको जनाइएको छ। बाँकी ११ जना स्थायी कर्मचारी र तीन जना करार तथा ज्यालादारी कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ।
सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको छ। बाढीका कारण रसुवागढी क्षेत्र प्रभावित भएपछि भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे चासो बढेको छ।
सम्बन्धित निकायले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।