काठमाण्डौ । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह ४.७६ मिटर पुगेको छ। बाढीको बहाव बुधबार दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।
नेपाल बाढी सूचना प्रणालीमार्फत गरिएको प्रारम्भिक आकलनअनुसार नदीको पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने अनुमान गरिएको छ। यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र उक्त बाढीको पुनरावृत्ति अवधि करिब २ देखि ३ वर्ष हुने आकलन गरिएको छ।
हालको पूर्वानुमानअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि, अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरिएको छ।
नदीको बहाव तथा पानीको सतहमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानीमा राखिएको जनाइएको छ। सम्बन्धित निकायले स्थानीय बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।