बुधबार, भाद्र १०,२०८३ 06:23:32
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 06:23:32
Bizshala
Global IME Bank Limited

रसुवागढी बाढीले १४ जलविद्युत् आयोजना प्रभावित, उद्धार र पुनःस्थापनामा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

क्षति मूल्यांकन सुरु

रसुवागढी बाढीले १४ जलविद्युत् आयोजना प्रभावित, उद्धार र पुनःस्थापनामा जुट्न मन्त्री श्रेष्ठको निर्देशन
New Office

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।  

बुधबार बिहान बाढीको सूचना प्राप्त भएपछि मन्त्री श्रेष्ठले मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बोलाएर घटनाको प्रारम्भिक अवस्थाबारे जानकारी लिएका थिए । बैठकमा उनले विपद्मा परेका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए ।  

मन्त्री श्रेष्ठले गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गर्न तथा विपद्सम्बन्धी सूचना व्यवस्थित र शीघ्र प्रवाह गर्न मन्त्रालय सक्रिय रहनुपर्ने बताएका छन् । साथै, ऊर्जा तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनःस्थापनाको काम अघि बढाउन उहाँले निर्देशन दिएका छन् ।  

विद्युत् आपूर्तिलाई नियमित र सुरक्षित राख्न काठमाडौं उपत्यकासहित देशभर आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्था तयार राख्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  

Bizshala
CG Motors

प्रभावितको उद्धारमा संयन्त्र परिचालन

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले उद्धार कार्यका लागि सात वटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाइसकेको छ भने थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको छ । हवाई उद्धारका लागि समेत आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिएका छन् ।  

रसुवाका ८ जलविद्युत् आयोजना प्रभावित

बाढीका कारण रसुवा जिल्लामा सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन गरी आठ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको कुल क्षमता ३४२.४२ मेगावाट छ ।

प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना रहेका छन् ।  

त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका चार र निर्माणाधीन दुई गरी थप छ वटा आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता सञ्चालनतर्फ १२३ मेगावाट र निर्माणाधीनतर्फ ५२.६ मेगावाट रहेको छ ।

नुवाकोटमा प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडल त्रिशूली गंगा तथा २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् ।

विद्युत् आपूर्ति नियमित राख्न प्राविधिक टोली परिचालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ  । टोलीले प्रभावित संरचनाको अवस्था मूल्यांकन गरिरहेको र सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबारे पूर्वसूचना उपलब्ध गराउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको छ ।

तर बाढीका कारण केन्द्रले जडान गरेका गेज स्टेसनलगायत केही संरचनामा समेत क्षति पुगेकाले थप जोखिमसम्बन्धी सूचना प्रवाहमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।

निजी जलविद्युत् आयोजनाको क्षतिबारे पनि छलफल

मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग पनि छलफल गरी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनःस्थापनाका विषयमा जानकारी लिएको  छ ।

छलफलमा निजी क्षेत्रका आयोजनामा भएको क्षतिको विवरण शीघ्र संकलन गर्ने तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा प्राविधिक मूल्यांकन भइरहेको छ। क्षतिको यथार्थ विवरण प्राप्त भएपछि पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना सार्वजनिक गरी कार्यान्वयनमा लगिनेछ ।

समग्र क्षतिको विवरण संकलन तथा मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.