काठमाण्डौ । बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको पहल थालेका छन्। विपद्को खबर सार्वजनिक भएलगत्तै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले सम्पर्क गरी आपतकालीन सहयोगका लागि विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउन सकिने जानकारी गराएका थिए।
दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
यता, उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।
सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि विपद् व्यवस्थापन तथा राहतका लागि घरेलु र अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने बाटोसमेत खुलेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।