काठमाण्डौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले ११४ जनाको हवाई उद्धार गरेका छन्।
उद्धार गरिएकामध्ये नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन्।
नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना तथा त्रिशूलीबाट काठमाडौँतर्फ तीन जनाको उद्धार गरेको जनाएको छ।
त्यस्तै, निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले पनि बाढी प्रभावितको उद्धारमा सक्रियता देखाएका छन्। कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जनालाई उद्धार गरेको छ।
प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले दुई जना, फिस्टेलले पाँच जना र एभरेस्ट हेलिकप्टरले दुई जनालाई टिचिङ अस्पताल पुर्याएका छन्। यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा थप दुई जनाको उद्धार गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार कार्यलाई तीव्र बनाइएको छ। प्रभावित क्षेत्रमा फसेका तथा तत्काल उपचार आवश्यक परेका नागरिकलाई प्राथमिकताका आधारमा हवाई उद्धार गरी सुरक्षित स्थान तथा अस्पताल पुर्याउने काम भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।