काठमाण्डौ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा व्यापक भौतिक क्षति पुगेकोप्रति उहाँले दुःख व्यक्त गरेको उल्लेख छ।
गुटेरेसले बाढीमा परी ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढीबाट प्रभावित सबै समुदायप्रति संयुक्त राष्ट्रसंघको ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।
नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता पहिचान र उपलब्ध गराउने कार्यमा सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ।
बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको महासचिव गुटेरेसले जानकारी दिएका छन् ।
महासचिव गुटेरेसले विपद्का बेला नागरिकको जीवन बचाउन खटिएका आपत्कालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावित समुदायका लागि थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।