काठमाण्डौ। नेपालमा आएको भीषण बाढीबारे चीनले पूर्वसूचना नदिएको आरोपको काठमामण्डौस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै चीनमाथि लगाइएको आरोप तथ्यहीन भएको जनाएको हो।
बुधबार आएको बाढीबाट नेपालमा मात्रै नभई चीनतर्फ समेत ठूलो क्षति भएको दूतावासले उल्लेख गरेको छ। चिनियाँ पक्षका अनुसार भौगोलिक विपद्का कारण चीनतर्फ बाँध भत्किएपछि नेपालमा ठूलो क्षति पुगेको हो।
दूतावासले ‘चीनले नेपाली पक्षलाई कुनै पूर्वसूचना नदिएका कारण नेपालमा ठूलो जनधनको क्षति भयो’ भन्ने दाबीलाई अस्वीकार गर्दै त्यस्तो आरोपलाई झुटो भनेको छ।
दूतावासले प्राकृतिक विपदबाट दुवै देश प्रभावित भएको उल्लेख गर्दै आरोप–प्रत्यारोपभन्दा सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएको छ। दूतावासले सामाजिक सञ्जालमार्फत ‘आरोप लगाउनुले कुनै समस्या समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने सन्देश दिएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि नेपालमा ठूलो जनधनको क्षति भएको अवस्थामा बाढीको पूर्वसूचना, सीमापार सूचना आदानप्रदान तथा विपद् व्यवस्थापनमा नेपाल–चीनबीचको समन्वयलाई लिएर प्रश्न उठिरहेका बेला चिनियाँ दूतावासको यस्तो प्रतिक्रिया आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।