बिहीबार, भाद्र ११,२०८३ 02:32:02
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 02:32:02
Bizshala
Global IME Bank Limited

दुई भूकम्पपछि चिनियाँ क्षेत्रमा हिमपहिरो, भोटेकोशी बाढीको कारण खोजिँदै

दुई भूकम्पपछि चिनियाँ क्षेत्रमा हिमपहिरो, भोटेकोशी बाढीको कारण खोजिँदै
New Office

काठमाण्डौ ।  रसुवागढी सीमा क्षेत्र आसपास बुधबार बिहान दुईवटा भूकम्प मापन भएको केही समयपछि चिनियाँ भूभागतर्फ हिमपहिरो गएको र त्यसपछि भोटेकोशी नदीमा उच्च गति, तीव्र बहाव तथा ठूलो परिमाणको गेग्रानसहित आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भू–उपग्रहका तस्बिर, जलमापन केन्द्रका तथ्यांक र घटनाक्रमको प्रारम्भिक विश्लेषणपछि यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

महाशाखाका अनुसार रसुवागढी सीमा क्षेत्र आसपास बुधबार बिहान ८ः२० बजे २.६ रेक्टर स्केल र ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। यद्यपि भूकम्पकै कारण हिमपहिरो गएको हो भन्ने प्रत्यक्ष सम्बन्ध भने अझै पुष्टि भइसकेको छैन।

प्रारम्भिक उपग्रह विश्लेषणले नेपाल–चीन सीमाक्षेत्र नजिक चिनियाँ भूभागमा हिमपहिरो गएको संकेत गरेको छ। सोही घटनापछि भोटेकोशीमा अस्वाभाविक रूपमा ठूलो परिमाणको पानी, हिलो, ढुंगा र गेग्रान एकैपटक आएको देखिएको महाशाखाले जनाएको छ।

बिहानैबाट बढेको थियो जोखिम

नेपाल–चीन रसुवागढी सीमाबाट भोटेकोशी नदीमा उच्च गति र गेग्रानसहितको बाढी प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले नदीको जलसतह, प्रत्यक्ष सूचना र बाढीको प्रवाह समयका आधारमा वास्तविक समयमै अनुगमन र विश्लेषण सुरु गरेको थियो।

महाशाखाले बिहान ९ः१५ बजेदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन पूर्वसूचना जारी गरेको जनाएको छ।

नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ एसएमएस पठाएर जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

Bizshala
CG Motors

जलमापन केन्द्रहरू नै बगायो बाढीले

बाढीको तीव्रता यति ठूलो थियो कि भोटेकोशी र त्रिशूली नदीमा रहेका विभिन्न स्वचालित जलमापन केन्द्रसमेत बगेका छन्।

रसुवागढीस्थित जलमापन केन्द्रले बिहान ८ः४० बजे अन्तिम पटक १.६२ मिटर जलसतह मापन गरेको थियो। उक्त केन्द्रको सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर रहे पनि त्यसपछि केन्द्र नै बगेको महाशाखाले जनाएको छ।

रसुवागढीबाट करिब ९ किलोमिटर तल स्याप्रुबेँसीस्थित केन्द्रले बिहान ८ः५० बजे ३.८ मिटर जलसतह मापन गरेको थियो। यसको सतर्कता तह ५.५ मिटर थियो। केही समयपछि उक्त केन्द्र पनि बाढीले बगाएको थियो।

नुवाकोटको बेत्रावतीस्थित जलमापन केन्द्रले बिहान ९ः२० बजे अन्तिम पटक ३.५५ मिटर जलसतह मापन गरेको थियो। त्यस केन्द्रको सतर्कता तह ४.१ मिटर र खतरा तह ५.५ मिटर थियो।

मलेखुमा १०.४८ मिटर पुग्दा केन्द्र बग्यो

फुर्के–मलेखु जलमापन केन्द्रमा बिहान ११ः२० बजे बाढीले ७ मिटरको सतर्कता तह पार गरेको थियो। बिहान ११ः४० बजे ८ मिटरको खतरा तह पार गर्दै जलसतह १०.४८ मिटर पुगेपछि उक्त केन्द्रसमेत बगेको महाशाखाले जनाएको छ।

मुग्लिन नजिकको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे बाढीले १२.१ मिटरको खतरा तह पार गरेको थियो। त्यहाँ अधिकतम १२.३५ मिटर जलसतह मापन भएको थियो।

त्यसपछि बाढी नारायणी नदी हुँदै देवघाट क्षेत्रमा पुगेको थियो। देवघाटमा दिउँसो ३ः२० बजे बाढीको प्रभाव देखिएको र साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमशः घट्न थालेको महाशाखाले जनाएको छ।

२ करोड घनमिटर अतिरिक्त पानीको प्रारम्भिक अनुमान

देवघाट जलमापन केन्द्रको तथ्यांक विश्लेषण गर्दा दिउँसो २ः१० बजेदेखि साँझ ६ बजेसम्म सामान्य आधार बहावभन्दा अतिरिक्त करिब २ करोड घनमिटर बाढीजन्य पानी बगेको प्रारम्भिक अनुमान गरिएको छ।

यसले माथिल्लो क्षेत्रमा अचानक ठूलो परिमाणमा पानी, हिउँ तथा गेग्रान एकैपटक नदी प्रणालीमा प्रवेश गरेको सम्भावनालाई बलियो बनाएको छ।

हिमपहिरो, हिमताल र हिमनदीमाथि थप अध्ययन

महाशाखाले अहिले सीमा क्षेत्रनजिकको हिमपहिरो, हिमताल, हिमनदी तथा समग्र हिमाली भूभागको विस्तृत अध्ययन गरिरहेको जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त भू–उपग्रह तस्बिर र अन्य तथ्यांक प्रयोग गरेर बाढीको वास्तविक उत्पत्ति, हिमपहिरोको आकार, सम्भावित हिमताल वा हिमनदीको भूमिका र भूकम्पसँगको सम्भावित सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अध्ययनले चिनियाँ भूभागमा हिमपहिरो गएको देखाए पनि भूकम्प, हिमपहिरो र त्यसपछि आएको भीषण बाढीबीचको कारणगत सम्बन्ध यकिन गर्न थप वैज्ञानिक अध्ययन आवश्यक रहेको महाशाखाले स्पष्ट पारेको छ।

भोटेकोशीबाट सुरु भएको यो आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको छ। महाशाखाले प्रमुख जलमापन केन्द्रका तथ्यांक र तल्लो तटीय क्षेत्रमा परेको प्रभावको निरन्तर अनुगमन भइरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.