काठमाण्डौ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मन भएका व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्नेछन्। यस सुविधाले विदेशबाट पठाइने सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, नेपालभित्रबाट पनि खल्ती बाइ आइएमईमार्फत सरकारी कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको आइएमईले जनाएको छ।
आइएमईले विपद्को कठिन परिस्थितिमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिन तथा राहत र पुनःस्थापनाका प्रयासमा सरकारलाई हरसम्भव सहयोग गर्न कम्पनीले सबैमा अपिल गरेको छ।
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुप परिवारले गहिरो दुःख, सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरेको छ।
आइएमईले विपद्को यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति समेत हार्दिक कृतज्ञता व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।