काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म विभिन्न जिल्लाबाट गरी २७० जनाको शव फेला परेको हो।
प्रहरीले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार चितवनमा सबैभन्दा बढी १०८ जनाको शव भेटिएको छ।
त्यस्तै, नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षले जनाएको छ।
जिल्लागत मृतक संख्या
- चितवन — १०८
- नवलपरासी पूर्व — ६२
- धादिङ — २७
- गोरखा — २०
- रसुवा — १७
- नवलपरासी पश्चिम — १५
- नुवाकोट — १२
- तनहुँ — ९
यसरी हालसम्म फेला परेका शवको कुल संख्या २७० पुगेको हो।
भोटेकोशीमा आएको बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले बगाएका शव तल्लो तटीय जिल्लामा समेत फेला पर्न थालेका छन्।
खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। विभिन्न स्थानमा बेपत्ता व्यक्तिको खोजी जारी रहेको र सुरक्षा निकायले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा खोजी तीव्र बनाएको जनाइएको छ।
बाढीले सडक, पुल, बस्ती, विद्युत् तथा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुर्याएकाले खोज, उद्धार र शव पहिचानको कामसमेत चुनौतीपूर्ण बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।