काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको खबरले विशेषगरी जलविद्युत् र निर्जीवन बीमा कम्पनीका सेयरमा दबाब परेको छ । तर, त्यसको ठीक उल्टो प्रभाव सिमेन्ट तथा निर्माणसँग सम्बन्धित कम्पनीको सेयरमा देखिएको छ ।
बाढीका कारण अर्थतन्त्रमा २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक भइरहँदा लगानीकर्ताको ध्यान भने अब हुने पुनर्निर्माणतर्फ मोडिएको देखिएको छ । सडक, पुल, सरकारी तथा निजी भवन, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेकाले आगामी दिनमा निर्माण सामग्रीको माग बढ्ने अपेक्षाले सिमेन्ट कम्पनीका सेयरमा आकर्षण बढेको देखिएको हो ।
बिहिबार हाइड्रो र निर्जीवन बीमाका अधिकांश कम्पनीको सेयरभाउ घट्दा सिमेन्ट कम्पनीतर्फ भने लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका फ्लोरसिटअनुसार बिहिबार बिहीबारको यो कारोबारले पनि यही मनोविज्ञानलाई थप बल दिएको छ । सिमेन्ट कम्पनीको सेयर मूल्य बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशतले उकालो लागेको छ ।
घोराही सिमेन्टको सेयर मूल्य ८.१९ प्रतिशत, सोनापुर मिनरल्सको ५.०५ प्रतिशत, पाल्पा सिमेन्टको ४.५३ प्रतिशत र शिवम् सिमेन्टको ४.१७ प्रतिशतले बढेको छ । साथै सर्वोत्तम पेन्ट्सको मूल्यसमेत १५ प्रतिशतले बढेको छ ।
हाइड्रो सेक्टरका कम्पनीमा ठूलो क्षति भएपछि सेयर लगानीकर्ताहरु सिमेन्ट कम्पनीतर्फ सिफ्ट हुन थालेका छन् । सेयर लगानीकर्ता सुवास चन्द्र ढुंगानाले हाइड्रो आयोजनाहँरुमा रसुवा बाढीले ठूलो क्षति भएका कारण हाइड्रो समूहका कम्पनीहरुमा पछिल्लो दुई दिनयता बिक्री दबाब परेको बताए ।
‘हाइड्रो सेक्टरका लगानीकर्ताहरु आत्तिएर सेयर फालेका छन् । ठूलो क्षति भएका कारण अब क्षति पुगेका कम्पनीलाई व्युँतिन लामो समय लाग्न सक्ने आँकलनले लगानीकर्ताहरुले हाइड्रोका सेयर बेच्न थालेका छन्’ उनले भने, ‘आजको कारोबारमा हेर्दा सिमेन्ट कम्पनीहरुको भाउ राम्रै बढेको छ । लगानीकर्ताहरुले सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेकाले आगामी दिनमा निर्माण सामग्रीको माग बढ्ने अपेक्षाले सिमेन्ट कम्पनीतर्फ सिफ्ट भएको जस्तो देखिन्छ ।’
पुनर्निर्माणको अपेक्षाले सिमेन्टमा आकर्षण
बाढीले रसुवासहित नुवाकोट र धादिङका सडक, पुल, भवन तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । रसुवागढीदेखि गल्छीसम्म दुई दर्जनभन्दा बढी पुल बगेका छन् भने बेत्रावतीदेखि रसुवागढीसम्म करिब ४० किलोमिटर सडकमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ । जलविद्युत् क्षेत्रका मात्रै सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी आठ आयोजना प्रभावित छन् ।
यस्तो क्षतिको पुनर्निर्माण सुरु हुँदा सिमेन्ट, छड, इँटा, बालुवा लगायतका निर्माण सामग्रीको माग बढ्ने स्वाभाविक अपेक्षा हुन्छ । यही सम्भावनालाई सेयर बजारले अहिले नै मूल्यमा प्रतिबिम्बित गर्न थालेको विश्लेषण गरिएको छ ।
लगानीकर्ताको सोचमा अहिलेको प्रश्न ‘बाढीले कति क्षति गर्यो ? ’ बाट ‘अब पुनर्निर्माणमा कति खर्च हुन्छ र त्यसबाट कुन क्षेत्रले लाभ पाउँछ ?’ भन्नेतर्फ सरेको देखिन्छ । त्यसैले विपत्तिले तत्काल नकारात्मक असर पारेका क्षेत्रभन्दा पुनर्निर्माणसँग जोडिएका कम्पनीमा भविष्यको आम्दानीको सम्भावना खोज्न थालिएको देखिएको हो ।
वित्तीय अवस्था पनि सुधारोन्मुख
सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण केवल बाढीपछिको पुनर्निर्माणको अपेक्षामा मात्रै आधारित छैन । पछिल्लो समय कम्पनीहरूको वित्तीय अवस्थामा समेत सुधार देखिएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म अधिकांश सिमेन्ट कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख देखिन्छ । सर्वोत्तम सिमेन्टले ७.७ प्रतिशत बढाएर १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, शिवम्ले पनि ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा सामान्य घटेको छ । यता सोनापुर मिनरल्सले भने ६१३.५४ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
साथै पाल्पा सिमेन्टले ३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । घोराही सिमेन्टले भने ३० करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा घाटा कम गरेको छ । अघिल्लो आवमा कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । वित्तीय लागतमा आएको कमी र व्यापारमा भएको सुधारले सिमेन्ट कम्पनीको ब्यालेन्स सिट बलियो बन्दै गएको विश्लेषण गरिएको छ ।
वित्तीय विवरणमा देखिएको सुधारसँगै आगामी दिनमा हुन सक्ने व्यवसायको ग्रोथ अनुमानले लगानीकर्ता सिमेन्ट कम्पनीतर्फ झुम्मिएको हुन सक्ने अनुमान गरिएको छ ।
अपेक्षा र वास्तविकताबीचको दूरी कति?
सिमेन्ट कम्पनीको सेयर मूल्य बढ्नुको अर्थ कम्पनीको आम्दानी तत्कालै बढिसकेको भने होइन। पुनर्निर्माणका योजना, सरकारी बजेट तथा खर्चको गति, निर्माण कार्य सुरु हुने समय, सिमेन्टको वास्तविक माग र कम्पनीको उत्पादन क्षमता जस्ता पक्षले आगामी दिनमा यसको प्रभाव निर्धारण गर्नेछन् ।
त्यसैले अहिलेको आकर्षणलाई मुख्यतः पुनर्निर्माणबाट सिमेन्टको माग बढ्ने अपेक्षामा आधारित बजार मनोविज्ञानका रूपमा हेर्नुपर्ने हुन्छ । विपत्तिपछिको पुनर्निर्माण कति छिटो र कति ठूलो परिमाणमा अघि बढ्छ भन्ने कुराले यो अपेक्षा वास्तविक व्यावसायिक वृद्धिमा परिणत हुन्छ कि हुँदैन भन्ने तय गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।