काठमाण्डौ। नेपालमा आएको भीषण बाढीको प्रभाव भारतको सीमावर्ती क्षेत्रमा समेत देखिन थालेको छ। उत्तर प्रदेशका महराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट सातवटा शव बरामद भएका छन्।
भारतीय अधिकारीहरूका अनुसार बरामद शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावसँगै भारततर्फ पुगेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।
सशस्त्र सीमा बल ९एसएसबी० को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको अवस्थामा देखेपछि मोटरबोटको सहयोगमा नदीबाट बाहिर निकालेको थियो। बरामद शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालयमा पठाइएको छ। हालसम्म कुनै पनि शवको पहिचान हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ।
महराजगञ्जको निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चारवटा शव बरामद गरिएको हो। तीमध्ये तीन महिला र एक पुरुष छन्।
गुप्ताका अनुसार शवहरूको पहिचान हुन सकेको छैन। घटनाबारे नेपाल प्रशासनसँग निरन्तर समन्वय भइरहेको उनले बताएका छन्। नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीले लगातार निगरानी गरिरहेका छन्।
यस्तै, कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माले पनि गण्डक नदीबाट तीनवटा शव बरामद भएको पुष्टि गरेका छन्। उनका अनुसार बरामद शवमध्ये दुई महिला र एक पुरुषका छन्।
नेपालमा आएको बाढीपछि नदीको जलस्तर र बहाव बढेसँगै सीमावर्ती भारतीय क्षेत्रमा समेत त्यसको प्रभाव देखिएको हो। बरामद शवहरूको पहिचान तथा उनीहरू नेपालका कुन क्षेत्रका हुन् भन्नेबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।