काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका मजदुर तथा स्थानीयको उद्धारमा नेपाली सेनाले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्त जोखिमपूर्ण परिस्थितिका बीच सेनाको टोलीले आज टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो।
टनेलभित्र अझै १०० भन्दा बढी मानिस फसेको बताइएको छ। उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली निरन्तर उद्धार अभियानमा जुटिरहेको छ।
जटिल र जोखिमपूर्ण टनेल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १र३ को सैन्य टोली अहोरात्र खटिएको छ।
यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सीक्यूआरटी धुन्चे ब्यारेक, रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित १र५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीलगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।
नेपाली सेनाका अनुसार आज मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको छ। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच सेनाले उच्च साहस, तदारुकता र समर्पणका साथ उद्धार अभियान सञ्चालन गर्दै ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।