काठमजाण्डौ । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प सिचुआनको लोङचाङ सहरमा गएको हो। उक्त क्षेत्र नेपाल–तिब्बत सीमामा बाढी प्रभावित क्षेत्रबाट सयौँ माइल टाढा रहेको जनाइएको छ।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त नभएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
नेपाल–चीन सीमा क्षेत्रमा यसै साता आएको विनाशकारी बाढी तथा पहिरोपछि नेपाल र तिब्बतमा उद्धार तथा राहत कार्य जारी रहेका बेला सिचुआनमा भूकम्प गएको हो। बाढी तथा पहिरोमा परी सयौँ मानिसको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्।
यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार तिब्बतमा जारी उद्धार तथा राहत कार्यबारे उच्च अधिकारीहरूसँग बैठक गरेका छन्। बैठकमा विपद्पछिको उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल भएको जनाइएको छ।
अधिकारीहरूले हिमताल, हिमनदी तथा अन्य भौगर्भिक विपद्का कारण प्रभावित क्षेत्रमा जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।