काठमाण्डौ । चीनको विदेश मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरोका कारण बनेको अवरोधयुक्त तालमा ठूलो परिमाणमा हिउँ तथा बरफ खसेर पानीको बहाव बढ्नु रहेको जनाएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार शुक्रबार बिहान ड्रोनमार्फत गरिएको निगरानीपछि चीनले बाढीको कारणबारे प्रारम्भिक निष्कर्ष निकालेको हो। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले हिमालमा गएको हिमपहिरोले ठूलो परिमाणमा हिउँ र बरफ खसाल्दा प्राकृतिक रूपमा बनेको ‘ब्यारियर लेक’ मा पानी जम्मा भएको र त्यसपछि बाढी आएको बताएका छन्।
प्रवक्ता जियानका अनुसार हिमपहिरोमा करिब ५० हजार घनमिटर हिउँ तथा बरफको भग्नावशेष रहेको थियो। माथिल्लो क्षेत्रबाट खसेको बरफ पग्लिनुका साथै अवरोधका कारण बनेको तालमा जम्मा भएको पानीको मात्रा बढेपछि ठूलो बाढी आएको चिनियाँ पक्षको निष्कर्ष छ।
चिनियाँ र नेपाली विज्ञहरूले नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी पग्लिएपछि चिनियाँ भूभागतर्फ पहिरो खसेको र त्यसकै कारण बाढी आएको निष्कर्ष निकालेको प्रवक्ता जियानले बताएका छन्।
बाढीका कारण चीनतर्फ पाँच जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको पनि उनले जानकारी दिएका छन्।
यद्यपि, चिनियाँ पक्षले बाढीको कारण हिमपहिरो र हिमनदीसँग सम्बन्धित रहेको दाबी गरे पनि नेपालले आफ्नो भूभागमा हिमनदी विस्फोट वा हिमपहिरो गएको पुष्टि गरिसकेको छैन। त्यसैले बाढीको वास्तविक कारणबारे थप अध्ययन र अनुसन्धान आवश्यक देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।