काठमाण्डौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा नेपालमा बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउन उक्त सहायता उपलब्ध गराउन लागिएको जनाएको हो। नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अमेरिका उनीहरूको साथमा रहेको उल्लेख गर्दै मन्त्रालयले यो सहयोगलाई जीवनरक्षक मानवीय सहायताका रूपमा परिचालन गर्ने जनाएको छ।
विज्ञप्तिअनुसार अमेरिकी सहयोगबाट आगामी तीन महिनासम्म करिब १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। बाढीका कारण खाद्य तथा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अमेरिकी सरकारको अतिरिक्त मानवीय सहयोगले बाढी प्रभावित परिवारको तत्कालीन खाद्य आवश्यकता पूरा गर्न तथा संकटका समयमा राहत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।