काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।
यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जानकारी गराएको प्राधिकरणले जनाएको छ।
भेटका क्रममा यूएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा उपकरणबारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार प्रभावित क्षेत्रमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकी लगायतका सामग्री आवश्यक रहेको जानकारी गराइएको थियो।
प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि यूएईको टोलीले सोहीअनुसार सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको उप्रेतीले बताए।
भेटमा यूएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा। अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी थिए।
नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ।
रसुवाको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।