काठमाण्डौ । जापानी शिपिङ कम्पनी निप्पोन युसेनले जापानका तेल प्रशोधन कम्पनीहरूसँग ल्याटिन अमेरिका र अफ्रिकाबाट कच्चा तेल आयातमा सहयोग गर्ने विषयमा छलफल अघि बढाएको छ। मध्यपूर्वमा अत्यधिक निर्भरता घटाउँदै तेल आपूर्तिका स्रोत विविधीकरण गर्ने उद्देश्यले यस्तो छलफल भइरहेको द जापान टाइम्सले जनाएको छ।
निप्पोन युसेनका प्रमुख कार्यकारी अधिकृत ताकाया सोगाका अनुसार छलफल प्रारम्भिक चरणमै छ। जापानी रिफाइनरी कम्पनीहरूले ब्राजिल, मेक्सिको तथा अफ्रिकी मुलुकहरूबाट नियमित र भरपर्दो रूपमा कच्चा तेल आपूर्ति हुनसक्ने सम्भावनाको मूल्यांकन गरिरहेका छन्।
अमेरिका र इरानबीचको युद्धअघि जापानले आफ्नो कुल तेल आवश्यकताको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वबाट आयात गर्दै आएको थियो। तर द्वन्द्वका कारण हर्मुज जलमार्गबाट हुने समुद्री ढुवानी प्रभावित भएपछि जापानले ऊर्जा आपूर्तिको रणनीति पुनरावलोकन गर्न थालेको हो।
तेल अभाव तथा मूल्यमा तीव्र वृद्धि हुन नदिन जापानले मुख्यतः अमेरिकाबाट वैकल्पिक आपूर्ति बढाउनुका साथै रणनीतिक तेल भण्डारसमेत प्रयोग गरेको थियो।
निप्पोन युसेनले यसअघि नै अमेरिकाबाट कच्चा तेल जापान पुर्याउँदै आएको छ। कम्पनीका अनुसार पछिल्लो समय उक्त मार्गमा तेल ढुवानीको माग बढिरहेको सोगाले बताएका छन्। कम्पनीका ग्राहकहरूले साउदी अरबबाट आउने तेलका लागि भूमध्यसागर हुँदै वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने सम्भावनाबारे समेत अध्ययन गरिरहेका छन्।
सोगाका अनुसार हाल कम्पनीले ढुवानीको अतिरिक्त लागत तथा लामो यात्राका कारण बढ्ने खर्च ग्राहकसम्म हस्तान्तरण गर्न सक्ने अवस्था रहेको छ। यससम्बन्धी छलफल पनि सकारात्मक रूपमा अघि बढिरहेको उनले बताए।
युद्ध सुरु भएपछि हर्मुज जलमार्गबाट हुने जहाज आवागमन लगभग ठप्पजस्तै भएको थियो। पछिल्ला महिनामा भने आवागमन पुनः सञ्चालनमा आएको छ। तेल व्यापारीहरूको अनुमानअनुसार उक्त जलमार्गबाट दैनिक ६० लाखदेखि ८० लाख ब्यारेल कच्चा तेल ओसारपसार हुने गरेको छ।
यद्यपि, हर्मुज जलमार्गबाट ढुवानी पूर्ण रूपमा सामान्य अवस्थामा फर्किए पनि तेल आपूर्ति विविधीकरणको रणनीति जारी रहने सोगाको भनाइ छ। मध्यपूर्वमाथिको अत्यधिक निर्भरताले सिर्जना गर्न सक्ने जोखिम जापानले पहिचान गरिसकेको उनको तर्क छ।
निप्पोन युसेनले पनामा र स्वेज नहर तथा ताइवान जलमार्गसँग सम्बन्धित जोखिमको समेत अध्ययन गरिरहेको जनाएको छ। कम्पनीले आगामी दीर्घकालीन व्यावसायिक योजनामा भू–राजनीतिक जोखिमलाई थप प्राथमिकता दिने तयारी गरेको छ।
यसैबीच, एलएनजीको आपूर्ति भने सामान्य रूपमा अघि बढिरहेको सोगाले बताए। जापानको एलएनजी आयातमा मध्यपूर्वमाथिको निर्भरता तुलनात्मक रूपमा कम रहेकाले यस क्षेत्रमा तत्काल ठूलो असर नपरेको उनको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।