काठमाण्डौ । रसुवा बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था बुझ्न परिवारजन हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएका छन्।
आफन्तहरूको अवस्थाबारे पाँच दिनसम्म स्पष्ट जानकारी नपाएको भन्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका परिवारजन र कम्पनीबीच सहमति भएपछि उनीहरूलाई दुई वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा लगिएको हो।
घटनास्थल पुगेका परिवारजनले आफ्ना आफन्तको अवस्था, खोज तथा उद्धारको प्रगति, आयोजनास्थलमा पुगेको क्षति र उद्धार भइरहेको स्थानको प्रत्यक्ष अवलोकन गर्नेछन्।
यसअघि परिवारजनले ‘जीवित भए तत्काल उद्धार गर, नभए शव उपलब्ध गराऊ’ भन्दै कम्पनीसँग स्पष्ट जवाफ मागेका थिए। बाढी आएको पाँच दिन बितिसक्दा पनि आयोजनामा रहेका कामदार तथा कर्मचारीको वास्तविक अवस्थाबारे पर्याप्त सूचना नपाएको उनीहरूको गुनासो थियो।
कम्पनी र पीडित पक्षबीच भएको सहमतिअनुसार खोज तथा उद्धारका लागि आवश्यक हेलिकप्टर र उद्धार टोली उपलब्ध गराइनेछ। प्रभावित क्षेत्रमा जाने आफन्तको यातायात तथा अन्य आवश्यक खर्चसमेत कम्पनीले बेहोर्ने सहमति भएको छ।
त्यस्तै, आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारको अवस्थाको विवरण परिवारजनलाई उपलब्ध गराउने, घटनाको दिनको सीसीटीभी फुटेज देखाउने तथा कम्पनीले तयार गर्ने उद्धारसम्बन्धी ‘एक्सन प्लान’ पीडित पक्षलाई उपलब्ध गराउने सहमति भएको छ।
आवश्यकताअनुसार सरकारी निकायसँग समन्वय गर्ने तथा घटनासँग सम्बन्धित विवरण नियमित रूपमा परिवारजन र सार्वजनिक माध्यममार्फत जानकारी गराउने विषय पनि सहमतिमा समेटिएको छ।
परिवारजनले बाढी आएको दिनदेखि नै कम्पनीले आयोजनास्थलको वास्तविक अवस्थाबारे पारदर्शी सूचना नदिएको आरोप लगाउँदै आएका थिए। विशेषगरी सुरुङ तथा मैलुङ साइटमा रहेका आफ्ना आफन्त कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी नपाउँदा उनीहरूको आक्रोश बढेको थियो।
कम्पनीका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ कामदार कार्यरत थिए भने मैलुङस्थित साइट कार्यालयमा ७५ जना रहेका थिए।
कम्पनीले यसअघि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिए पनि सरकारी अनुमति नपाउँदा उडान हुन नसकेको दाबी गरेको थियो। कम्पनीका एक कोरियन प्रतिनिधिले पाँचवटा हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका थिए।
तर परिवारजनसँग सहमति भएपछि अब उनीहरूलाई नै घटनास्थलमा पुगेर अवस्था प्रत्यक्ष बुझ्ने अवसर दिइएको छ।
नुवाकोटमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। आयोजनाको सुरुङ र मैलुङ क्षेत्र प्रभावित बनेपछि त्यहाँ रहेका कामदार तथा कर्मचारीको अवस्था यकिन गर्न खोज तथा उद्धार कार्य जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।