काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा ठूलो परिमाणमा राहत र रकम जम्मा भए पनि प्रभावित नागरिकसम्म आवश्यक सहयोग पुग्न नसकेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै ओलीले राहत व्यवस्थापन र वितरणको प्रभावकारितामाथि प्रश्न उठाएका हुन्।
उनले सरकारी कोषमा रकम र राहत सामग्री जम्मा भइरहे पनि वास्तविक पीडितले समयमै राहत नपाएको बताए।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थिति अन्त्य गर्न हामीले पनि प्रयास गरिरहेका छौँ।’
ओलीका अनुसार विपद्को यस्तो अवस्थामा राहत संकलन मात्रै पर्याप्त हुँदैन, पीडितसम्म समयमै पुर्याउने संयन्त्र पनि उत्तिकै प्रभावकारी हुनुपर्छ।
उनले एमालेले राहत तथा पुनर्स्थापनाका काममा सरकारको मात्रै भर नपरी विभिन्न निकाय र पक्षसँग समन्वय गरेर अघि बढ्न चाहेको बताए।
रसुवाको भोटेकोशी बाढीपछि सरकारको राहत कोषमा विभिन्न देश, निजी क्षेत्र, संघसंस्था तथा व्यक्तिबाट ठूलो परिमाणमा सहयोग जम्मा भइरहेको छ। तर दुर्गम र बढी प्रभावित क्षेत्रमा राहत पुग्ने गति तथा वितरण व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला ओलीको यस्तो टिप्पणी आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।