काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि उद्धार गरिएका नागरिकको संख्या ११ हजार नाघे पनि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म ३ हजार ९२५ जना सम्पर्कविहीन छन् ।
जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामलाई तीव्र बनाइए पनि बेपत्ताको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । विशेषगरी क्षतिग्रस्त सडक, पहिरो, बाढीको तीव्र बहाव र संरचनामा पुगेको क्षतिका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न चुनौती देखिएको छ ।
नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार गरिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिएका छन् । उद्धार तथा खोजीका लागि तीनवटै सुरक्षा निकायका २२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीको ठूलो प्रभाव परेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा फसेका तथा बेपत्ता भएकाको खोजीलाई विशेष प्राथमिकता दिइएको छ । आयोजनाबाट हालसम्म २५४ जनाको उद्धार गरिएको छ ।
तर सुरुङभित्रको अवस्था अझै जोखिमपूर्ण रहेकाले उद्धार कार्य प्राविधिक रूपमा जटिल बनेको छ । सुरुङभित्र रहेका व्यक्तिको अवस्था पत्ता लगाउन नेपाली सेनासहित कोरियाली र चिनियाँ विशेषज्ञ टोली परिचालन गरिएको छ । उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्दै सुरुङभित्र खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।
विपतको मानवीय क्षति पनि ठूलो देखिएको छ । प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म ९३९ शव फेला परेका छन् ।
सबैभन्दा धेरै शव चितवनमा २७९ फेला परेका छन् । पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ शव फेला परेको प्राधिकरणले जनाएको छ ।
बाढीमा परी २७९ जना घाइते भएका छन् । तीमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले प्रभावित क्षेत्रमा मात्रै करिब २ हजार ७०० जनालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको जनाएको छ ।
उद्धार गरिएका नागरिकमध्ये २५३ जना विदेशी नागरिक समेत रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।