काठमाण्डौ । नेपाल खानेपानी संस्थानले खुला, आन्तरिक तथा बढुवा प्रतियोगितामार्फत पदपूर्तिका लागि यसअघि प्रकाशित १९८ पदका विज्ञापन रद्द गरेको छ।
संस्थानले गोरखापत्रमा २०८३ वैशाख ६ गते प्रकाशित गरेको विज्ञापनअनुसार विभिन्न पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको थियो। उक्त विज्ञापन लोक सेवा आयोगको सहमतिमा पदपूर्ति समितिको निर्णयअनुसार प्रकाशित गरिएको थियो।
तर, पूर्वाधार विकास मन्त्रालयको निर्देशनअनुसार नेपाल खानेपानी संस्थानको साविक संरचना अस्तित्वमा रहने अवस्था नदेखिएको भन्दै उक्त विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको संस्थानले जनाएको छ।
मन्त्रालयले संस्थानसँग सम्बन्धित सेवा तथा संरचना सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको थियो। त्यसपछि संस्थानको पदपूर्ति समितिले लोक सेवा आयोगसँग विज्ञापन रद्द गर्न सहमति मागेको थियो।
लोक सेवा आयोगबाट गत भदौ ३ गते विज्ञापन रद्द गर्न सहमति प्राप्त भएपछि संस्थानको पदपूर्ति समितिको भदौ ८ गते बसेको बैठकले यसअघि प्रकाशित सबै सम्बन्धित विज्ञापन रद्द गर्ने निर्णय गरेको हो।
विज्ञापनअन्तर्गत आवेदन दिएका उम्मेदवारले आफूलाई पायक पर्ने संस्थानको कुनै एक शाखा कार्यालयमा परीक्षा दस्तुर बुझाएको रसिदसहित निवेदन दिएर शुल्क फिर्ता लिन सक्नेछन्।
संस्थानका अनुसार भद्रपुर, विराटनगर, लहान, राजविराज, जनकपुर, जलेश्वर, गौशाला, मलंगवा, गौर, कलैया, वीरगन्ज, पोखरा, हेम्जा, बुटवल, भैरहवा, तौलिहवा, कृष्णनगर, बहादुरगन्ज, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, बनेपा तथा प्रधान कार्यालय त्रिपुरेश्वरमध्ये आफूलाई पायक पर्ने कुनै एक कार्यालयमा निवेदन दिन सकिनेछ।
परीक्षा शुल्क फिर्ताका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने संस्थानले जनाएको छ।
शुल्क फिर्ताका लागि प्राप्त निवेदन तथा कागजात रुजु गरेपछि परीक्षा दस्तुर फिर्ता हुने आवेदकको तीन पुस्तेसहितको नामावली संस्थानको वेबसाइटमा पछि प्रकाशित गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।